फार्मेसीमा लगाइएको शिलबन्दी खोलेकोमा विरोध

भक्तपुर, १ भदौ । किशोर एवं युवालाई नशालु औषधि बिक्री गर्ने फार्मेसीमा लगाइएको शिलबन्दी खोलिएको भन्दै नगरपालीकाले विरोध गरेको छ ।

सूर्यविनायक नगरपालिकाको अनुगमन टोलीले नगरपालिका–६ पाण्डुबजारस्थित तेजस्वी फार्मेसीले किशोर एवं युवालाई नशालु औषधि बिक्री गर्दै गरेको अवस्थामा फेला पारेपछि शिलबन्दी गरेको थियो ।

नगरपालिकालाई कुनै जानकारी नै नदिई औषधि व्यवस्था विभागले आर्थिक प्रलोभनमा परी आज फर्मेसीको शिलबन्दी खोलेको आरोप लगाउँदै नगरपालिकाले विभागको कार्यशैलीको विरोध गरेको हो । नगरपालिकाले शिलबन्दी गर्ने र कारवाही गर्ने अधिकार स्थानीय सरकारलाई दिन माग गरेको छ ।

गत साउन १ गते सूर्यविनायक नगरपालिकाले नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाको नेतृत्वमा गएको अनुगमन टोलीले विभागका कर्मचारी बोलाइ शिलबन्दी गरेको थियो ।

नगरपालिकाका प्रशासकीय अधिकृत तिम्सिनाले नगरपालिकाले अनुगमन गर्दा दोषी भेटिएको फार्मेसीलाई विभागले के कारवाही ग¥यो, या गरेन भन्नेसमेतको नगरपालिकालाई जानकारी नगराई विभागले सुटुक्क शिलबन्दी खोलेको आरोप लगाए ।

विभागले स्थानीय सरकारको बेवास्ता गरेको बताउँदै उहाँले विभागको नियतमाथि शङ्का उब्जिएको बताउँदै उहाँले अनुगमन मात्रै नभई शिलबन्दी गर्ने, कारवाही गर्ने र शिलबन्दी खोल्ने अधिकार नगरपालिकाले पाए मात्रै सहज हुने बताए ।

सूर्यविनायक नगरपालिकाका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले शिलबन्दी गरेको फार्मेसीसँग आर्थिक लेनदेन गरेर नगरपालिकालाई जानकारी नै नगराई विभागले शिलबन्दी खोलेको आरोप लगाए ।

विभागको कार्यशैलीप्रति नगरपालिकाले विरोध गरेको बताउँदै सापकोटाले भने, “औषधि पसलको अनुगमन र कारवाही गर्नुपर्ने विभागले अनुगमन गर्दैन, नगरपालिकाले गरेको अनुगमनमा दोषी पाएर शिलबन्दी गरेको पनि गोप्यरुपमा आएर सुटुक्क विभागका कर्मचारीले शिलबन्दी खोलेर जान्छन्, विभागका कर्मचारी आर्थिक प्रलोभनमा परेर गर्ने यस्ता कार्यले दोषीलाई प्रोत्साहन मिलेको छ, कारवाही गर्ने अधिकार नगरपालिकाले पाउनुपर्छ ।”

विभागले शिलबन्दी खोले पनि युवा र किशोरकिशोरीलाई लागूऔषधका रुपमा अवैध औषधि बिक्री गर्ने तेजस्वी फार्मेसीलाई कारवाही नै नगरी शिलबन्दी खोलेको भन्दै स्थानीयले विभागको कार्यशैलीको समेत विरोध गरेका छन् ।

गत साउन १ गते भएको अनुगमनमा भक्तपुर नगरपालिका साविक १४ हाल वडा नं ३ बस्ने डी फार्मेसी उत्तीर्ण गरी औषधि पसल सञ्चालन गर्दै आएकी रीना श्रेष्ठले सञ्चालन गरेको उक्त फार्मेसीबाट ट्रेनडल १०० एमजी, ५० एमजी, क्लोनाज, क्लस्पलगायतका पाँचवटा ब्राण्डका अवैध औषधि बरामद गरी शिलबन्दी गरेको थियो ।

सूर्यविनायक नगरपालिका–६ का वडाध्यक्ष रामेश्वर ध्वजूले यो पसलबाट अवैध औषधि बिक्री भइरहेको र किशोर तथा युवाले लागूऔषधिका रुपमा प्रयोग गर्ने गरेको गुनासो आएपछि अनुगमन गरेर शिलबन्दी गरेको भए पनि विभागले सुटुक्क शिलबन्दी खोलेको आपत्ति जनाए । औषधि व्यवस्था विभागका फार्मेसी निरीक्षक राम शर्मा पौडेलले पसल शिलबन्दी गरेको र शिलबन्दी खोल्न पनि उहाँकै टोली आएको थियो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने, “उक्त फार्मेसीलाई अब अवैध औषधि वितरण नगर्न सचेत गराउने निर्णय गरेको जानकारी दिँदै शिलबन्दी खोलिएका बारे भने आफूलाई जानकारी नभएको बताए ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *