डा. गोविन्द केसीलाई आइसियूबाट वार्डमा सारियो
काठमाडौँ, १५ साउन । छ दिनको आइसियू उपचार पछि डा. गोविन्द केसीलाई वार्डमा सारिएको छ । अनशनका कारण स्वास्थ्य अवस्था जटिल भएका डा केसीलाई गत विहीबार त्रिवि शिक्षण अस्पतालको आइसियूमा लगिएको थियो । त्यसअघि उनले सरकारसंग ९ बुँदे सम्झौँता गर्दै २७ दिन लामो अनशन तोडेका थिए ।
लामो समयको अनशनका कारण शरीरमा आएका विभिन्न परिवर्तनहरुको उपचार गर्न यतिका दिन आइसियूमा राखिएको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।
उनीहरुले डा. केसीको रगतमा पोटासियमको मात्रामा भएको गढबढी, रक्तचापमा आइरहने व्यापक फेरबदल र सेतो रक्तकोशिकाको संख्या निकै नै न्यून भएका आईसियूमा राखिएको जानकारी दिए ।
‘आज गरिएको रगतको परिक्षण र इसिजिमा सुधारका संकेतहरु देखिना साथ उहाँलाइ वार्डमा सारिएको छ,’ डा. केसीका सहयोगी विशद दाहालले भने ।
अझै पनि संतोषजनक रुपमा सेतो रक्तकोशिकाको संख्या नबढेको, रक्तचाप मेन्टेन नभएको र नसाबाट विभिन्न खाले औषधि दिइरहनु पर्ने भएका कारण अस्पातालकै मेडिसिन विभाग अन्तर्गत भर्ना गरी डा केसीको उपचार भइरेको उनले बताए ।
उपचारमा सम्लग्न चिकित्सकलाई उदृत गर्दै दाहाल भन्छन्, उहाँलाइ डिस्चार्ज गर्न अझै एक हप्ता कुर्नुपर्ने र सम्पुर्ण रुपमा निको हुन ४(५ हप्ता लाग्न सक्छ ।
त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा केसी र सरकारबीच गत १० साउनमा ९ बुँदे सम्झौँता भएको थियो । सम्झौँता लगत्तै डा. केसीले २७ दिन लामो अनशन तोेडेका थिए । तत् पश्चात उनलाई उपचारका लागि आइसियू लगिएको थियो ।