सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता शुरु
काठमाडौँ, १० साउन । सरकार र डा. गोविन्द केसी पक्षबीच बार्ता शुरु भएको छ । शिक्षा मन्त्रालयमा जारी बार्तामा सरकारका तर्फबाट खगराज बराल र डा. केसी पक्षबाट डा अभिषेकराज सिंहले नेतृत्व गरेका छन् ।
अस्ति सहमति नजिक पुगेर हिजो एकाएक भाडिएको बार्ता राती प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता पछि पुन ट्रयाकमा आएको थियो । हिजो राती बालुवाटारमा डा. केसीका प्रतिनिधिसंग प्रधानमन्त्री स्वयंले कुराकानी गर्नु भयो । त्यसमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्यासिंह शाहले समन्वयात्मक भूमिका खेलेका थिए ।
रातीको छलफल राकात्मक भएपछि विहान देखि पुन उच्चस्तरीय बार्ताको तयारी भएको हो ।
‘हो बार्ता शुरु भएको छ । सकारात्मक दिशामा अघि बढने विश्वास लिइएको छ,’ प्रधानमन्त्रीका प्रेश सल्लाहकार कुन्दन अर्यालले भने । उनले अस्ति पनि वार्ता सहमति उन्मुख हुँदा हुँदै हिजो राजनीतिक दलका केही व्यक्तिको सक्रियताले भाडिएको प्रतिक्रिया दिए ।
यता डा केसीका प्रतिनिधिहरुले पनि आजको बार्तामा सहमति हुने सम्भावना बढेको बताएका छन् । उनीहरुले दुबै पक्ष सकभर आजै सहमति गरी डा केसीको अनशन तोडाउने पक्षमा रहेको बताएका छन् ।