इटहरी : एक वर्षमा एक हजार ४०७ सर्पदंश पीडित

इटहरी, ८ साउन । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गतको परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार सवा केन्द्रले गत वर्ष एक हजार ४०७ जना सर्पदंशका पीडितको उपचार भएको छ ।
सो अवधिमा पूर्वी तराई तथा पहाडी जिल्लाका गाउँगाउँबाट सर्पदंशको डसाइपछि उपचारमा ल्याइएका पीडितमध्ये १२५ जनामा विषालु सर्पको डसाइको जीवाणु फेला परेको थियो ।
सर्पदंशका पीडितको उपचारमा सक्रिय रहेका पदमबहादुर राईले सर्प बढी देखिने वर्षायाममा उक्त उपचार केन्द्रमा दैनिक सरदर आठदेखि १५ जना पीडित उपचारका लागि आउने गरेको बाताए ।
यो वर्षको वैशाखदेखि साउनको पहिलो सातासम्म उक्त सामुदायिक सर्पदंश उपचार केन्द्रमा ५५१ जना सर्पदंशका पीडितले एन्टिस्नेक भेनम सिरम औषधि प्राप्त गरिसकेको उपचारमा संलग्न अर्का सेवा प्रदायक विनोद कट्वालले थप जानकारी दिए ।
सो आवधिमा आउने सेवाग्राहीमध्ये २९८ जना महिला र २५३ जना पुरुष रहेका छन् । सर्पदंशपछि उपचारमा आउने पीडितमध्ये पछिल्लो चार महिनाको आँकडा हेर्दा ४५ जना पीडितमा विषालु सर्पको डसाइ फेला परेको पाइएको छ ।
गर्मी मौसम बढेसँगै सर्पदंशको पीडित हुने क्रममा पनि बढिरहेको उपचार केन्द्रले जनाएको छ । यस महिनाको ६ गतेभित्रमा सर्पदंशको पीडित भएर उपचारका लागि आउने पीडितको संख्या छ दिनमा ६२ जना पुगिसकेको छ । असार महिनामा २५० जना सर्पदंशका पीडितले यस उपचार केन्द्रबाट उपचार सेवा पाएर घर फर्केका थिए ।
विंसं २०६९ पछि नेपाली सेनाको पूर्वी पृतना मुख्यालय र इटहरीवासीको साझेदारी सहकार्यमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएपछि उक्त केन्द्रले यो अवधिमा सात हजार ४७७ जना सर्पदंशका पीडितको उपचार गरेको तथ्यांक पनि उक्त उपचार केन्द्रले जनाएको छ । हालसम्म उपचार गरिएका पीडितमध्ये ५३९ जना विषालु सर्पको डसाइमा परेका रहेको पनि तथ्यांकमा उल्लेख छ ।  रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *