डा. केसीको अनशन २४ औँ दिनमा, एघारौँ अनशनको रेकर्ड तोडियो
काठमाडौँ, ७ साउन । डा. गोविन्द केसीको अनशनको आज २४ औँ दिन । १५ औँ पटक अनशन बसेका डा. केसीको यो अनशन सबै भन्दा लामो भएको छ ।
यसअघि उनी एघारौँ अनशन २३ दिनमा स्थगित हुँदा सबैभन्दा लामो मानिएको थियो । बाढी पहिरोको कारण देखाउँदै गतवर्ष ३१ साउनमा उनले आफ्नो २३ दिन लामो अनशन स्थगित गरेका थिए । त्यसभन्दा अघि १० औँ अनशन २२ औँ दिनमा तोडेका थिए ।
१४ औँ अनशनसम्म त्रिवि शिक्षण अस्पतालमा बसेका डा. केसी १५ औँ अनशन बस्न जुम्ला पुगेका थिए । जुम्लामा उनलाई हेरेको मेडिकल टिमले स्वास्थ्य अवस्था एकदमै विग्रिएको र उपचार गर्ने क्षमता समेत नभएको रिपोर्ट दिएपछि सरकारी टोलीले जीवन रक्षाका लागि भन्दै २० औँ दिनमा उनलाई काठमाडौँ ल्याएको थियो ।
तर, काठमाडौँ ल्याइए उनको उपचार हुन सकेको छैन । उनी पहिले अनशन बस्ने स्थलमा गएर आफ्नो अनशनलाई निरन्तरता दिएका छन् । अझ् काठमाडौँ आएपछि त उनले स्वास्थ्य परीक्षण गर्न समेत मानेका छैनन् ।
आफूलाई इच्छा विपरीत जवरजस्ती जुम्लाबाट उठाएर ल्याएको, जुम्लामा अत्यधिक बल प्रयोग गरेको भन्दै उनले परीक्षण गर्न नमानेका हुन् ।
बार्ता रोकियो
यस अघि गत ३२ असारका दिन सरकारले डा केसीसंग बार्ता गर्न शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो ।
सरकारले टोली गठन गरे लगत्तै डा केसीको तर्फबाट पनि सोही दिन बार्ता टोली सार्वजनिक गरिएको थियो । केसीका तर्फबाट बार्ता गर्न डा अभिषेकराज सिंहको संयोजकत्वमा तीन सदस्यीय टोली गठन भएको थियो । टोली गठन भएकै दिनबाट तीन चरणसम्म भएको बार्ता अहिले रोकिएको छ ।
डा केसी पक्षले सचिवस्तरको बार्ता टोलीलाई म्यान्डेन नभएको भन्दै मन्त्रीस्तरीय टोली हुनुपर्ने माग गरेको छ । सरकारले भने अहिलेकै टोलीसंग बार्ता गर्न दवाव दिदै आएको छ । दुबै पक्षको अडानका कारण तत्काल सहमति हुने सम्भावना देखिएको छैन।