अनशनरत डा. केसीलाई ‘हाइपोक्यालेमिया’

जुम्ला, १ साउन । विगत १८ दिनदेखि अनशनमा रहदै आएका डा. गोबिन्द केसीलाई ‘हाइपोक्यालेमिया’ भएको छ ।  हिजो गरिएको रगत परीक्षणका क्रममा डा. केसीलाई हाइपोक्यालेमिया देखिएको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।

यसअघि डा केसीले बार्ता टोली गठन नभएसम्म रगत परीक्षण नगराउने अडानमा थिए । हिजो बार्ता टोली गठन भएपछि उनको रगत परीक्षण गर्दा हाइपोक्यालेमिया पाइएको हो ।

के हो ‘हाइपोक्यालेमिया’ ?

चिकित्सकीय भाषामा रगतमा पोटासियमको मात्रा कम हुनुलाई हाइपोक्यालेमिया भनिन्छ ।

मानव शरीरमा पोटासियम मुटुको चाललाई ठिक ठाउँमा राख्न र अन्य मांसपेशीहरुलाई समेत स्वस्थ राख्न आवश्यक पर्दछ । यदि रगतमा यसको मात्रा घटबढ भएमा श्वासप्रश्वास , मुटु र मिर्गौलामा समेत गम्भीर असरहरु देखा पर्दछन ।

हाइपोक्यालेमिया भएको बिरामीले सर्वप्रथम मांसपेशीहरु कमजोर भएको महशुस गर्दछ। खुट्टाबाट सुरु हुने यस किसिमको कमजोरी बिस्तारै शरीरको माथिल्लो भाग तर्फ सर्दछ । उठेर बस्दा शरीर गल्ने अनि हात खुट्टा लुलो भएको जस्तो हुने समस्या डा. केसीमा देखिदै आएको छ ।

पोटासियमको कमी भएसँगै पेटका मांसपेशीहरुमा पनि असाधारण परिवर्तनहरु आउँछ्न जसका कारण पेट दुख्ने , वाकवाकी लाग्ने समस्याहरु देखिन थाल्छन् । जुन डा. केसीमा विगत केही दिनयता झन थपिदै गइरहेको छ ।

यसका अलावा हाइपोक्यालेमियाको सबैभन्दा डरलाग्दो असर श्वासप्रश्वास , मिर्गौला र मुटुमा देखिन्छ । रगतमा पोटासियम कम भएसँगै, श्वासप्रश्वास गराउने मांसपेशीहरु पनि कमजोर हुँदै जान्छन् जसका कारण बिरामीलाइ सास फेर्न अप्ठ्यारो हुने र केही दिन भित्रमा श्वासप्रश्वास नै बन्द हुन सक्ने जोखिम रहन्छ । डा केसीलाई यस्तै हुनसक्ने भएको भन्दै अस्पतालले अनशनस्थलमा भेन्टिलेटर तयारी अवस्थामा राखेको जनाएको छ ।

उपचारमा संलग्न डा. धिरज गुरुङ डा. केसीलाई हाइपोक्यालेमिया भएसँगै मुटुको चाल बिग्रने हो कि भन्ने डरले चिन्तित छन् । आज दिउँसो जारी विज्ञप्तीमा उनले भनेका छन, ‘डा. केसीलाई विगतमा पनि एरिदमिया (मुटुको चालमा गढबढी) देखिएको र यसैपटक पनि धेरैपटक एक्टोपिक बिट्स आइसकेको परिप्रेक्ष्यमा आजको रिपोर्ट अनुसार जुनसुकै अवस्थामा पनि मुटुको चालमा गढबढी आइ धड्कन नै बन्द हुनसक्ने देखिएको छ ।’

मुटुको चालमा आउनसक्ने गढबढिलाइ ध्यानमा राख्दै अनशन स्थलमा डिफिब्रीलेटर तयारी अवस्थामा राखिएको छ । तर यसरी मुटुमा गम्भीर समस्या देखिएमा डा. केसीलाइ सिसियुमै राखेर उपचार गर्नु पर्ने चिकित्सकहरुको सुझाव रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *