आर्थिक बर्ष सकिन ५ दिन बाँकी छँदा ३० अस्पताललाई बाँढियो १० करोड अनुदान
काठमाडौँ, २६ असार । आर्थिक बर्ष सकिन ५ दिन बाँकी छदा सरकारले ३० वटा सामुदायिक अस्पताललाई १० करोड रुपैयाँ अनुदान बाँढेको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक बर्ष २०७४/७५ को स्वीकृत कार्यक्रम अनुसार सामुदायिक अस्पतालहरुलाई अनुदान दिने सम्वन्धी दोस्रो संसोधन निर्देशका २०७३ अनुसार यी अस्पताललाई पुँजीगत अनुदान उपलव्ध गराउन निर्णय गरेको जनाएको छ ।
गतवर्ष सरकारले यस्तै निर्णय आर्थिक बर्ष सकिन १ महिना बाँकी छँदा गरेको थियो । २७ वटा अस्पताललाई ५० करोड रकम अनुदान उपलव्ध गराएको थियो । आर्थिक बर्षको अन्तिममा रकम बाँढिएको भन्दै त्यसबेला समेत चर्को आलोचना भएको थियो ।
यसपटक अनुदान पाउने अस्पतालहरु अधिकांश गतवर्ष कै छन् । दोहोरिएका र नयाँ अस्पतालहरु पनि बहालवाला मन्त्री तथा सांसदका निर्वाचन क्षेत्रका छन् ।
स्वास्थ्य मन्त्रालयका उपसचिव लिलाराज पौडेलले अनुदान रकम निर्देशिका अनुसार नै रहेको प्रतिक्रिया दिएका छन् ।