स्वास्थ्य क्षेत्रका विकृति सुधार्न प्रयत्नशील छु : राज्यमन्त्री अर्याल

स्याङ्जा, २३ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न आफू प्रयत्नशील रहेको बताएकी छन् ।

प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टर नेपाल स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन, “स्वास्थ्य क्षेत्रका धेरै चुनौतिमध्ये कर्मचारीको दरबन्दी पनि एक हो”

राज्यमन्त्री अर्यालले आफ्नो दरबन्दी एकातिर राखेर विदेश पढ्न जाने तर उक्त ठाउँमा अर्को कर्मचारी नहुने भएकाले सर्वसाधारणलाई स्वास्थ्य सेवा लिन निक्कै कठिनाई भइरहेको उल्लेख गर्दै यस विषयमा आफू गम्भीर भएको छु भनिन ।

जहाँ दरबन्दी छ, सोही ठाउँमा कर्मचारीले अनिवार्य सेवा गर्नुपर्छ, होइन भने राजीनामा दिएर त्यो ठाउँ खाली गरिदिनुपर्छ, उनले भनिन, “यो नियमलाई कडाइकासाथ लागू गर्ने तयारीमा मन्त्रालय रहेको छ ।”

राज्यमन्त्री अर्यालले राज्यले दिएको छात्रवृत्तिमा अध्ययन गर्ने तर राज्यले खटाएको ठाउँमा नजाने जुन प्रवृत्ति छ, यसको अब अन्त्य हुनुपर्छ भन्दै कर्मचारीलाई पाँच वर्षभन्दा बढी उपत्यकामा बस्न नपाउने गरी नियम बनाउनका लागि छलफल भइरहेको जानकारी दिइन ।

सरकार प्रत्येक पालिकामा एउटा अस्पताल र प्रत्येक वडामा एउटा स्वास्थ्यचौकी बनाउने गरी अगाडि बढेको बताउँदै उनले स्वास्थ्यका क्षेत्रमा सर्वसाधारणले परिवर्तनको अनुभूति पाउने गरी कार्य हुनेमा विश्वस्त हुन सबैमा आग्रह गरिन् ।

राज्यमन्त्री अर्यालले डा केसीका मागप्रति सरकार केहीमा सहमत भए पनि मेडिकल कलेज खोल्न नदिनेप्रति भने सहमत हुननसक्ने उल्लेख गर्दै अनसनरत गंगामायाको विषय द्वन्द्वसित जोडिएको हुनाले जटिल र संवेदनशील रहेको बताइन्। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *