डा. केसी प्रतिष्ठानमा पुगेपछि डाक्टरहरुद्धारा ओपिडी बन्दको कार्यक्रम फिर्ता
काठमाडौँ, २० असार । नेपाल चिकित्सक संघ कर्णाली शाखाले गत मंगलबार (हिजो) देखि शुरु गरेको आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने कार्यक्रम फिर्ता लिएको छ ।
जुम्लास्थित जिल्ला खेलकुद परिषदको कबर्ड हलमा १५ औँ पटक अनशन बसेका डा केसीलाई अस्पताल पुरयाइएको भन्दै सेवा बहिस्कारको कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ ।
विगत पाँच दिन देखि आमरण अनशनरत डा केसीलाई स्वास्थ्यमा समस्या आएपछि आज अपरान्ह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरयाइएको थियो । उनको अहिले सेमी आइसियूमा राखेर उपचार भइरहेको छ ।
कर्णाली शाखा अन्तरगर्तका चिकित्सकहरुले गत सोमबार स्थानीय प्रशासनका गएर कवर्डहलमा अनशनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै प्रतिष्ठानमा स्थानान्तरण गर्न आग्रह गरेका थिए । तर प्रशासनले आग्रहलाई वेवास्ता गरेको थियो ।
त्यस लगत्तै उनीहरुले स्थानीय प्रशासनलाई २४ घण्टाको अल्टिमेटम दिँदै सेवा ठप्प पार्ने घोषणा गरेका थिए । स्थानीय प्रशासनले भने सो अल्टिमेटम सकिँदासम्म कुनै जवाफ नदिएपछि चिकित्सकहरुले कर्णाली प्रदेशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा बहिस्कार गरेका थिए ।
आज डा केसीलाई अस्पताल पुरयाएपछि भने सबै सेवा पहिले जस्तै यथावत सुचारु हुने बताइएको छ ।