अछामको बयालपाटा अस्पतालमा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया

अछाम, २१ जेठ । अछामको बयालपाटा अस्पतालमा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ ।
तीन दिनदेखि पेट दुखेर बिरामी भई अस्पताल पुगेका साँफेबगर–१३ बाब्लाका ५२ वर्षीय अम्बरे विष्टको आन्द्रामा परेको प्वालको शल्यक्रिया गरिएको हो ।
आन्द्रामा समस्या भएका उनले दुई घण्टाको सफल शल्यक्रियापछि खुशी व्यक्त गर्दै भने, “टाढा जानलाई पैसा थिएन, बयालपाटामै आफ्नो उपचार हुँदा खुशी लागेको छ, अस्पताललाई धन्यवाद ।”
बिरामीको प्रकृति हेर्दा आइसियुको सुविधा भएको अस्पतालमा राख्नु पर्ने भए पनि आर्थिक अवस्था कमजोर भएका कारण आफन्तले अन्यत्र लैजान नमानेपछि बयालपाटा अस्पतालमै उहाँको शल्यक्रिया गरिएको उपचारमा संलग्न डा विकास गौचनले बताए ।
उनले भने, “बिरामीका श्रीमतीले धनगढी नेपालगञ्ज लैजान मान्नु भएन बरु त्यसको सट्टा घर फर्किन्छौँ भनेपछि यही शल्यक्रिया गरिएको हो ।” उनका अनुसार यस्तो प्रकारको जटिल शल्यक्रिया अछाममा पहिलोपटक गरिएको हो । सुदूरपश्चिमको सेती अञ्चल अस्पतालबाहेक यस्तो प्रकारको शल्यक्रिया सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा हुन नसक्ने उनको भनाइ थियो ।
डा गौचनका अनुसार यस्तो प्रकारको शल्यक्रिया प्राइभेट अस्पतलामा गराउँदा रु दुई लाखभन्दा बढी खर्च लाग्छ । बिरामी विष्ट खतरामुक्त अवस्थामा रहेको शल्यक्रियामा संलग्न डा पवन अग्रवालले बताए ।
शल्यक्रियामा डा बिवप्लव श्रेष्ठ, एनेस्थेसिया सहायक महेन्द्र कुँवर, नर्स नारन्ती महरा, कञ्चन चौधरी, स्वास्थ्य सहयोगी दीपा बम, लक्ष्मी विकलगायतको सहभागिता थियो । न्याय हेल्थ नेपालले अछाममा बयालपाटा अस्पताल र दोलखामा चरिकोट अस्पताल सञ्चालन गर्नुका साथै सामुदायिक स्वास्थ्य सेवा पनि सञ्चालन गरिरहेको छ । अस्पतालमा हाडजोर्नीलगायत सबै स्वास्थ्य सेवा निःशुल्क प्रदान हुँदै आइरहेका छन् । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



