तनहूँमा ज्वरो र रुघाखोकीका बिरामी बढे
तनहुँ, १० जेठ । केही दिनयतादेखि दमौली अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ ।
मौसम परिवर्तन सँगसँगै अस्पतालमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताए । जेठको पहिलो हप्तादेखि नै बिरामीको चाप अत्यधिक रहेको जानकारी उनले दिए। भाइरल ज्वरो, विषमज्वरो, रुघाखोकीका बिरामीको चाप बढेको उनले बताए ।
दैनिक १६० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्, डा श्रेष्ठले भने । बिरामीलाई साफसुग्घर भएर बस्न, उमालेको पानी खान, तातो झोल पदार्थ खान, बासी सडेगलेका खानेकुरा नखान, सल्लाह दिँदै आएको अस्पतालका डा सृजना शर्माले बताइन् । दैनिक १५÷२० जना इमर्जेन्सीका बिरामीको स्वास्थ्य जाँच गर्दै आएको स्वास्थ्यकर्मी बताउँछन् ।
व्यास नगरपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिकालगायत क्षेत्रबाट बिरामी उपचारका लागि आउने गरेको दमौली अस्पतालले जनाएको छ । दाँतका समेत दैनिक २०/२५ जना बिरामी आउने गरेको डा दीपेन्द्र राय यादवले बताए ।
अस्पतालका जनस्वास्थ्य निरीक्षक ऐश्वर्य भट्टराईले गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या बढ्दै गएको बताइन् । “दूषित पानी र फोहरमैलाका कारण हुने महामारी फैलन नदिन हामीले उच्च सतर्कतासमेत अपनाएका छौँ,” भट्टराईले भनिन् । रासस