सुर्खेत बन्यो ४३ औँ पूर्ण खोप सुनिश्चित जिल्ला

56
Shares

सुर्खेत, ३१ वैशाख । कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यो घोषणासंगै सुर्खेत ४३ औँ पूर्ण खोप सुनिश्चित जिल्ला भएको छ ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १५ महिनामुनिका बालबालिकाले सबै खोप लगाइसकेकाले जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्दै कर्णाली सरकारका सामाजिक विकासमन्त्री दलबहादुर रावलले स्वास्थ्य क्षेत्रको विकासका निम्ति आफू अगाडि बढ्ने प्रतिबद्धता जनाए । “राजनीतिक विकास सकियो, अब स्वास्थ्य क्षेत्रको विकास गर्न सहकार्यका साथ अघि बढ्छौँ”– उनले भने, “यसको लागि प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि समावेश गर्नेछौँ ।”

बाल स्वास्थ्य महाशाखाका निर्देशक विकास लामिछानेले पूर्ण खोप घोषणापछि यसको दिगोपनाका लागि सबै मिलेर अघि बढ्न जरुरी रहेको बताए ।

जिल्ला खोप समन्वय समितिका सदस्यसचिव धिरजंग शाहले १५ महिनामुनिका बालबालिका ११ प्रकारका खोपबाट कोही पनि वञ्चित नरहेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको बताए ।

विसं २०७० चैत २६ गते साविकको लेखगाउँ गाविसलाई पूर्ण खोप गाविस घोषणा गरी शुरुआत गरिएको उक्त अभियान २०७४ साल फागुन २६ मा छाप्रेमा आएर सम्पन्न भएको खोप प्रमुख जितलाल ढकालले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *