झापा : आमाछोरी नै थलिएपछि सहयोगको अपिल

 झापा, २७ वैशाख । खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा मर्ने रहर कसलाई हुन्छ । तर रोगले थलिएपछि उपचार नपाएर धेरैले यही उमेरमा ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ ।

उपचारकै क्रममा भएको जायजेथा सकिँदा आर्थिक सहयोगको अपिल गर्दै साविक राजगढ–५ निवासी ३२ वर्षीया झुमादेवी राजवंशीले आफू बाँच्न र १६ वर्षीया छोरीलाई बचाउन आग्रह गर्दै आएकी छन् । गम्भीर प्रकृतिको रोगले सताएको र उपचारका लागि खर्च नहुँदा रोगले छोरी छटपटिएको हेरेर बस्नुपर्दाको पिडासंगै विगत आठ महिनादेखि उनी आफैँ पनि थलिएर बस्नुको विकल्प भएन ।

झुमादेवीले आफ्नो ढाड दुख्ने समस्या शुरु हुनेबित्तिकै गाउँका धामी सहित चिकित्सकलाई पनि देखाउँदा समस्या समाधान भएन भने छोरी नवीता राजवंशीको पनि सानैबाट पेटमा पानी जमेकाले पीडामाथि पीडा छ । छोरीलाई उपचार गर्ने बेलामा आमा नै थलिएपछि राजवंशी परिवारमा अहिले विचल्ली भएको हो ।

झुमादेवीका श्रीमान् नन्द राजवंशीले जेठीबाट छोरा नभएको भन्दै कान्छी श्रीमतीका रुपमा उनलाई भित्र्याएका थिए । उनका दुई सन्तानमध्ये १६ वर्षीया छोरीको पेटमा पानी जमेका कारण शरिरको विकास हुन नसकी अहिले नविता सात आठ वर्षकी जस्तै देखिन्छिन् ।

झुमाका श्रीमान् भारतको राजस्थानमा मजदूरी गर्दै आएका छन् भने उनको मेरुदण्डमा ऐजरु पलाएर कम्मरमुनिको भाग नचलेका कारण घरबार पनि लथालिङ्ग भएको छ । यस्तो अवस्थामा स्थानीय कर्णाली बचत तथा ऋण सहकारी संस्थाले उनको उपचारका लागि आर्थिक सहयोग त ग¥यो तर त्यत्तिले मात्रै नपुगेपछि सोही सहकारीले समेत सहयोगको अपिल गरेको हो ।

सहकारीका सचिव भूपाल बस्नेतले भने, “सहयोगबाट जम्मा भएको रु एक लाख ५० हजार स्थानीय अस्पतालमा उपचार गर्दागर्दै सकियो तर अस्पताले स्रोतले उनको उपचारमा करिव रु। पाँच लाख लाग्ने बताएको छ ।”

सचिव बस्नेतका बुबाआमाले क्यान्सर रोगका कारण ज्यान गुमाएकाले उनले अहिले आमाबुबाका नाममा गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सरपीडित सहयोग संस्था दर्ता गरेका छन् । सोही संस्थामार्फत उपचारका लागि सहयोग संकलन गरेर झुमादेवीको उपचार गर्ने उनले बताए ।

चिकित्सकको सल्लाहबमोजिम झुमाको काठमाडौँको वीर अस्पतालमा उपचार संभब हुने भएकाले सबैले आ–आफ्नोतर्फबाट सकेको सहयोग गरिदिन उक्त सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठले सबैमा आग्रह गरे ।

झुमादेवी राजवंशीको नाममा रहेको उक्त सहकारीको राजगढ सेवाकेन्द्रको खाता नम्बर ००५०७०००३८२मा सक्दो आर्थिक सहयोग उपलब्ध गराउन संस्थाका सचिव बस्नेतले पनि जोड दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *