झापा : अज्ञात रोगले थलिएकी अरुणा श्रेष्ठको अपिल

झापा, २१ । झापा भद्रपुर नगरपालिका–३ भीमनगरकी २७ वर्षीया अरुणा श्रेष्ठ अज्ञात रोगले थलिएकी छन् । नौ वर्षकै उमेरमा शरीर विस्तारै कमजोर हुँदै गएका कारण अहिले उनी पूर्णरुपमा असशक्त बनेकी हुन् ।

अरुणा अहिले न हिँडडुल गर्न सक्छिन् न त राम्रोसँग बोल्न नै । ‘‘उपचारका लागि धेरै ठाउँ धाएँ, न रोग पत्ता लाग्यो न त उपचार नै भयो’’, आफ्नो पीडा सुनाउँदै उनले भनिन्, “सक्दो उपचार गरियो तर अहिले आर्थिक अभावले घरमै थलिएर बसेकी छु ।”

अरुजस्तै हिँडडुल गर्ने, हाँसखेल गर्ने इच्छा त थियो भन्दै उनले आग्रह गरिन्, “आर्थिक सहयोग पाएर उपचार गर्न सके निको हुन्थेँ होला ।” मर्नु न बाँच्नुको अवस्थामा रहेकी अरुणाले मनकारीसँग सहयोगको याचना समेत गरिन् ।

निर्वाचन ताका भोट माग्नेहरुले आश्वासन दिए पनि त्यसपछि नआएको अरुणाको गुनासो थियो । ‘भोट माग्न आउँदा उपचारमा सहयोग गर्ने आश्वासन पाएकी थिएँ’, उनले भनिन्, “भोट माग्न आउने अहिले कता हराए, मैले सहयोग पाइन ।”

अरुणाको उपचारका लागि ठूलै खर्च गरेको आमा दमन्ता ताम्राकारले बताइन्। “शुरुमा उपचारका लागि मेचीअञ्चल अस्पताल लगियो तर त्यहाँको औषधिले काम नगरेपछि व्यायाम र झारपूmकबाट उनको रोग निको बनाउने प्रयास गरियो”, उनले भनिन्, “त्यसपछि उपचारका लागि नेपाल हुँदै भारतका विभिन्न अस्पताल लगियो, कसैले रोग पत्ता लगाउन सकेनन् । आर्थिक समस्या भएकाले थप उपचारका लागि अब कहीँ लान सक्ने स्थिति भएन ।”

केही वर्षअघि वैवाहिक जीवनमा बाँधिएकी अरुणाले श्रीमान्ले समेत साथ छोडेका छन् । उनले भनिन्, “बिरामी परेपछि जीवनभरसँगै बाँच्ने कसम खाएका श्रीमान्ले पनि छाडेर अर्कै विवाह गरे ।’’ अरुणा अहिले माइतीको शरणमा छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *