सरकारी चिकित्सक संघले बनायो स्वास्थ्य मन्त्रालयको नयाँ ‘अर्गानोग्राम’

काठमाडौँ, ५ बैशाख । मन्त्रिपरिषदले पास गरेको भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संंगठन संरचना अर्गानोग्राम प्रति असन्तुष्ठी जनाएको सरकारी चिकित्सकहरुले आफै नयाँ अर्गानोग्रामको ढाचा तयार गरेका छन् । उनीहरुले मंगलबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई भेटी आफूहरुले तयार पारेको नयाँ अर्गानोग्रामको नमूना बुझाएका छन् ।

सरकारी चिकित्सक संघ नेपाल गोदानको अगुवाईमा बनाइएको संरचनामा मन्त्री सचिव पछि प्रमुख विशेषज्ञको रुपमा १२ औँ तहका दुईवटा पदहरु राखिएका छन् । त्यसपछि नीति योजना, जनसंख्या,चिकित्सा सेवा, स्वास्थ्य समन्वय र प्रशासन गरी पाँचवटा महाशाखा राखिएका छन् ।

‘मन्त्रालयले तयार गरी पेश गरेर पास भयो भनिएको संरचना हामीलाई मान्य थिएन र छैन । हामीले यस सम्वन्धमा मन्त्री ज्यू मार्फत सरकारको ध्यानाकर्षण गराएका थियौँ । त्यसपछि मन्त्री ज्यूले संसोधनको आश्वासन दिनुभयो र सुधार गर्नुपर्ने पक्षहरु जानकारी गराउन भन्नुभयो । हामीले त्यहि अनुसार विज्ञ तथा सरोकारवाला सबै बसेर विवादरहित बनाउने गरी संरचनाको खाका पेश गरेका छौँ ,’  सरकारी चिकित्सक संघ नेपाल (गोदान)का अध्यक्ष डा. दिपेन्द्र पाण्डेले भने ।

उनले पहिलेको संरचनामा उपल्लो तहको पदहरुमा प्रमुख हुन समूह तोकिएको बताउँदै अब भने त्यसको सट्टामा पदलाई फोकस गरिएको बताए । ‘पहिले पव्लिक हेल्थ समूहले मात्रै पाउँने व्यवस्था थियो भने अव पव्लिक हेल्थ मात्रै होइन, क्लिनिकल डाक्टर, नर्स आदि विषयबाट माथिल्लो तहमा पुग्नेले पनि त्यो पदमा रहन पाउने भए । यहि फरक छ,’ अध्यक्ष डा. पाण्डेले भने ।

यता स्वास्थ्य राज्यमन्त्री अर्यालले पनि पहिलेको संरचनामा विभिन्न सरोकारवाला समूहले असन्तुष्टि जनाएपछि यसलाई संसोधन गर्न खोजिएको बताइन । ‘तपाईँलाई यति भनौ बाहिर जे सुकै आएपनि कुनै पनि संरचना अन्तिम ढंगले पास भएको छैन । धेरै पटक थपघट संसोधन भइरहेका छन् । यसलाई अन्तिम रुप दिन हामी अहिले पनि विभिन्न पक्षबाट सुझाव मागिरहेका छौँ । त्यहि अनुसार अन्तिम संरचना तयार पार्दैछौँ । सम्भवत भोली यसको छलफल टुग्यांई अन्तिम रुप दिन सकिन्छ ‘ उनले भनिन् ।

संरचनाको खाका बुझाउन अध्यक्ष पाण्डेसंगै उपाध्यक्ष डा. रविन खड्का , राष्टिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेल, महासचिव डा . रमेश ढकाल लगायतका टोली मन्त्रालय पुगेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *