यौन र प्रजनन स्वास्थ्यका खुलदुली मेट्दै किशोर–किशोरी

  • विष्णु नेपाल

सिन्धुली, १९ चैत । “रवितालाई महिनावारी भएको रहेछ । पहिलोपटक महिनावारी हुँदा तल्लो पेट त दुख्छ नै । कसैलाई बढी दुख्छ । कसैलाई कम । नआत्तिनु भनेर सम्झाई दिएको छु । निरन्तर दुखिरह्यो भने आउनु भनेको छु । यस्तो बेलामा सुरक्षित रुपमा कसरी प्याडको प्रयोग गर्ने भन्ने सिकाइदिएँ”, अनमि सुदीच्छा कोइराला जवाफ दिँदै थिइन् ।

“बाबु किशोरावस्थामा अण्डकोष तथा लिङ्गको आकारमा वृद्धि हुन्छ । पिसाब पोल्छ । जनेन्द्रीय वरिपरि चिलाउँछ । तर अस्वभाविक रुपमा यस्ता लक्षण बढ्दै गयो भने आउनु ।” सिनियर अहेव मदनविक्रम दाहाल किशोर प्रतिक राना मगरलाई परामर्श दिँदै थिए ।

ती दुवै स्वास्थ्यकर्मी प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा कार्यरत छन् । रातभर तल्लो पेट दुखेर निदाउन नसकेकी कक्षा ९ मा अध्ययनरत रविता रम्तेल सहपाठीको साथमा स्वास्थ्य केन्द्रमा आएकी थिइन् । अनमि कोइरालाले आफूलाई प्रदान गरेकी सेवा, व्यवहार र परामर्शप्रति औधी रमाउँदै स्वास्थ्य केन्द्रको मूल ढोकामा भेटिएकी किशोरी रम्तेलले फुर्किंदै भनिन्, “कस्तो डर लागिरहेको थियो, पेट दुखेर उभिन सकेको थिइन, टाउको दुखिरहेको थियो, अहिले त सबै विसेक भा जस्तो भा छ , यस्तो पो स्वास्थ्यकर्मी दिदी । आमालाई समेत नभनी आएकी थिएँ ।”

भर्खर माध्यामिक शिक्षा परीक्षा सकाएका किशोर मगरले भने, “कहिले परीक्षा सकुँला र यहाँ (स्वास्थ्य चौकी) आउँला भाथ्यो । बा, आमा, साथीलाई समेत भनेको थिइनँ । स्वास्थ्यकर्मी सरले छुट्टै कोठामा लगेर खुलेर कुरा राख भने । आफ्ना कुरा भनिदिए । मेरो कुरा सुनेर त किशोर अवस्थामा आउने परिवर्तन पो भनिदिनुभो । के गर्नुपर्छ के गर्नुहुन्न भनेर जानकारी दिनुभयो । बल्ल ढुक्क भए, खुलदुली मेटियो । यी कुरा त साथीहरुलाई भनुँ भनुँ लागिरहेको छ, सोधे भने भनिदिन्छु ।”

यस जिल्लाका २४ स्वास्थ्य संस्थामध्ये भूकम्पले आंशिक क्षति पु¥याएको यस स्वास्थ्य संस्थाले किशोर तथा किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा दिन जिल्लामा नै पहिलो पटक अलग परामर्श एवं उपचार कोठा छुट्याएको छ । जिल्लाकै अन्न भण्डार कहलिएको तीनपाटन फाँटमा बसोबास गर्ने किशोर–किशोरीले आफ्ना जिज्ञासा, कौतुहलता तथा समस्या यहीँ अलग कोठमा बसेर खुलेर अहिले स्वास्थ्यकर्मीलाई सुनाउँछन् । दैनिक आउनेमा यस्तो सेवा लिन आउनेमा किशोरभन्दा किशोरी बढी भएको स्वास्थ्य संस्थाले जनाएको छ ।

उनीहरुका बृहत्तर यौनिकताका जिज्ञासा तथा समस्यालाई हँसिलो र रसिलो मुद्रामा स्वास्थ्यकर्मीले समाधान गरिदिन्छन् । “किशोर–किशोरी अवस्थामा हुने शारीरिक, मनोसामाजिक तथा यौनिक परिवर्तन, प्रजनन स्वास्थ, गर्भनिरोधक उपाय, परिवार नियोजन जस्ता विषयमा कुनै कुरा नलुकाई भनिदिन्छौँ । हामीले खुलेरभन्दा उनीहरुले पनि धक नमानी आफ्ना कुरा भन्दा रहेछन्, यसबाट यौन तथा प्रजनन स्वास्थ्यलाई प्रवद्र्धन एवं समस्याला्ई समाधान गर्न सजिलो भैराखेको छ,” सिनियर अहेव दाहालले भने।

पहिलो किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्र

उसो त यस स्वास्थ्य केन्द्रलाई स्वास्थ्य मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाले नेपालको पहिलो किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्रका रुपमा प्रमाणीकरण गरेको छ ।

“शुरु शुरुमा किशोर–किशोरी आफ्ना समस्या लिएर यहाँ (स्वास्थ्य सस्था)मा आउन नै लजाउँथे । आफ्ना कुरा खुलेर भन्न त परै जाओस् । यौन र प्रजननका शब्द सुन्न लजाउँथे । अलग कोठाको व्यवस्था गर्दासमेत आफ्ना कौतुहलता एवं जिज्ञासमा सुनाउँदैनथे, लजाउँथे , हिचकिचावट गर्थे । सुझाव बक्स राख्यौँ, लेख्न सक्नेले त्यहाँ लेखेर आफ्ना कुरा राख्थे । विस्तारै परिवर्तन आयो । अहिले त आफ्ना अभिभावकलाई समेत भन्न नसक्ने यौन तथा प्रजननका कुरा खुलेर सुनाउँछन्, हामी आफूले जानेका ज्ञान उनीहरुलाई भन्छौँ, खुशी भएर जान्छन्, चिकित्सक कैलाशकुमार बल बताउँछन् ।

कोठामा बृहत्तर यौनिकता शिक्षासम्बन्धी विविध ब्रोसर एवं फ्लेप राखिएका छन् । सरल भाषामा चित्रसहित रहेका यस्ता जानकारीले उनीहरुका यौन तथा प्रजनन जिज्ञासा मेटाइरहेको देखिन्छ ।

कण्डम, गर्भ निरोधक खाने चक्की, डिपोप्रोभेरा, इम्प्लान्ट जस्ता आदि पुरुष तथा महिलाका परिवार नियोजनका सबै प्रकारका साधनसमेत राखिएका छन् । स्वास्थ्यकर्मीका परामर्शपछि उनीहरु आफ्नो इच्छा, रोजाइ अनुसारका सामग्रीसमेत पढ्छन् ।

यस प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं तीनपाटन गाउँपालिका–१ का अध्यक्ष गोविन्दबहादुर रावत “महिलाले कुर्कुच्चा देखाउन हुँदैनथ्यो, महिनावारी हुँदा छुट्टै गोठमा बस्नुपथ्र्यो जस्ता कुचलन थिए । अहिले परिवर्तन आएको छ । महिनावारी हुँदा प्याडका प्रयोग गर्न थालेका छन्, परिवार नियोजनको स्थायी एवं अस्थायी साधन प्रयोग गर्ने बानी बढ्दै गएको छ । कम उमेरमा विवाह गर्नु हुँदैन भन्ने सामाजिक चेतना बढेको छ ।

किशोर–किशोरीले यौन तथा प्रजननका आफ्ना समस्या लुकाउन छाड्दै गएका छन् । उनीहरुको स्वास्थ्य संस्थामा नै सेवा लिने क्रम बढ्दो छ ।”

सबै स्वास्थ्य संस्था किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य मैत्री बन्दै

परिवार स्वास्थ्य महाशाखाले संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपिए)को आर्थिक एवं प्राविधिक सहयोगमा यस जिल्लामा सन् २०१० देखि किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो ।

कार्यक्रमका जिल्ला कार्यक्रमविज्ञ सञ्जय शर्मा कार्यक्रमले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, व्यवस्थापन समितिका सदस्य, महिला स्वयंसेविका तथा अगुवा किशोर–किशोरीलाई तालीम, स्वास्थ्य संस्थालाई आवश्यक उपकरण प्रदान निरन्तर सञ्चालन गतिविधिले किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवामा धेरै परिवर्तन आएको बताउछन् ।

कार्यक्रमले यस जिल्लाका २४ वटै स्वास्थ्य संस्थालाई किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्रका रुपमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ । तीमध्ये शीतलपाटी स्वास्थ्य चौकी र वाशेश्वर स्वास्थ्य चौकीले किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्रका रुपमा प्रमाणीकरणको प्रमाणपत्र पाइसकेका छन् ।

शीतलपाटी स्वास्थ्य चौकीका प्रमुख अहेव निशा बराल दैनिक रुपमा पाँच ÷६ जना किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सेवा लिन आउने गरेका र उनीहरुलाई आफूहरुले छुट्टै सेवा प्रदान गर्ने गरेको बताउनुहुन्छ । उसो सो चौकीको सबै सेवा महिलाद्वारा नै दिइरहेका छन् ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डिल्लीरमण अधिकारीका अनुसार किशोर–किशोरीका आवश्यकता अनुसारका स्वास्थ्यका विशेष सेवा, सेवा उपयोग गर्न वातावरण, प्रभावकारी सेवा, सेवा प्रदान गर्न सक्ने स्वास्थ्यकर्मीका क्षमता, सीप, दिगोपन लगायतका नौवटा राष्ट्रिय मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थालाई मात्र किशोर–किशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा केन्द्रको प्रमाणीकरणको प्रमाणपत्र दिइने गरिन्छ ।

युएनएफपिएका किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम अधिकृत मञ्जु कर्माचार्य किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार गर्न कार्यक्रमले कोशेढुुङ्गाको काम गरेको, कम उमेरमा बच्चा जन्माउनु हुँदैन भन्ने चेतना अभिवृद्धि गरेको तथा परिवार नियोजनका साधन उपयोगमा वृद्धि गर्न सहयोग गरेको बताउँछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १९ वर्ष उमेर समूहका व्यक्तिलाई किशोर–किशोरी भनिन्छ । पछिल्लो जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार १५ देखि १९ वर्षका २८ प्रतिशत किशोरीको विवाह सो उमेर समूहभित्र भइसक्छ । सो समूहकै १७ प्रतिशतले पहिलो बच्चा पनि सोही उमेर समूहभित्र जन्माइसक्छन् ।

अर्कोतर्फ १९ वर्ष मुनिका किशोरीको गर्भाधान गर्ने दर प्रतिएक हजारमा ८१ जना रहेका छन् । कम उमेरमा गर्भाधान गर्ने दरलाई कम गर्न किशोर–किशोरी यौन तथा प्रजनन सेवाको पहुँचलाई विस्तार गर्नुपर्ने खाँचो रहेको युवा स्वयंसेवक सुनिल कोइराला बताउँछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *