न्यानो झोला वितरण पुनःशुरु

लमजुङ, १४ चैत । बजेट अभावका कारण स्थगित न्यानो झोला वितरण कार्यक्रम पुनः शुरु भएको छ । न्यानो झोला वितरण स्थगितबारे समाचार प्रकाशित भएपछि बेँशीसहर नगरपालिकाले न्यानो झोला उपलब्ध गराएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत आउने रकम चालु आर्थिक वर्षमा स्थानीय तहमा गएपछि विगत चार महिनादेखि न्यानो झोला कार्यक्रम प्रभावित भएको थियो । न्यानो झोला वितरण कार्यक्रमबारे जानकारी नभएकाले कार्यक्रम प्रभावित हुन गएको नगरपालिकाले जनाएको छ ।

“जिल्ला अस्पतालबाट कार्यक्रम माग भएन, हामीलाई पनि यसबारे जानकारी भएन” नगर प्रमुख गुमान सिंह अर्यालले भने, “मिडियामा समाचार आएपछि मात्रै हामीलाई थाहा भयो ।”

ढिला गरी जानकारी भएको र बजेट अभावकै कारण थोरै मात्र सामग्री उपलब्ध गराएको नगर प्रमुख अर्यालले बताए। “चालु आर्थिक वर्षको बजेट विनियोजन भइसकेकाले आगामी वर्ष योजनासहित निरन्तरता दिने नगरपालिकाले जनाएको छ ।”

नगरपालिकाले जिल्ला सामुदायिक अस्पतालका लागि दुई सय र नगरपालिकाअन्तर्गतका बर्थिङसेन्टरका लागि १० वटा न्यानो झोला उपलब्ध गराएको थियो ।

स्वास्थ्य संस्थामै गएर सुरक्षित सुत्केरी गराउनेको संख्या वृद्धि भइरहेको बेला सरकारले दिँदै आएको उक्त न्यानो झोला कार्यक्रम स्थगित भएको थियो । सरकारले नियमित जाँच गराइ स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई नगद रु एक हजार ४०० सहित न्यानो झोला दिँदै आएको थियो ।

न्यानो झोलामा नवजात शिशुलार्ई भोटो, तौलिया, रुमाललगायतका न्यानो कपडाका साथ आमालार्ई हुने दुईवटा म्याक्सी राखिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *