अन्धोपन पत्ता लगाउन आँखा स्वास्थ्य सर्वेक्षण हुँदै

कल्पना पौडेल

काठमाडौँ, १३ चैत । नेपालमा आँखा स्वास्थ्य सर्वेक्षण गरिने भएको छ ।

नेपाल नेत्रज्योति संघले आगामी असारबाट सर्वेक्षण शुरु गर्न लागेको हो । नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा डा तीर्थप्रसाद मिश्रले अन्धोपनको स्थिति, उपचार सेवामा पहुँच, उपचार हुन नसक्नुका कारण, मधुमेहका कारण आँखामा समस्या भएकाको स्थितिलगायतका विषयमा अध्ययन गरिने बताए ।

आँखा स्वास्थ्य क्षेत्रमा काम गरी नेपालबाट अन्धोपन हटाउन आँखा उपचार सेवा बढाइ जनतामा जनचेतना वृद्धि गर्ने उद्देश्यले ४० वर्षअघि स्थापना भएको नेपाल नेत्रज्योति संघले सातै प्रदेशमा आँखा स्वास्थ्यको स्थितिबारे सर्वेक्षणका लागि आवश्यक तयारी अन्तिम चरण पुगेको जनाएको छ ।

अहिले पनि ७० प्रतिशतभन्दा बढी अन्धोपनका कारण मोतीबिन्दु भएको चिकित्सकको भनाइ छ । आँखासम्बन्धी जनचेतनाको कमीका कारण समयमै उपचार सेवा पाउन नसक्दा धेरै व्यक्ति अन्धोपनको शिकार हुनुपरेकाले सर्वेक्षणबाट आएको तथ्यबाट प्रभावकारी रणनीति बनाई अघि बढ्न सहज हुने संघको भनाइ छ ।

संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले सर्वेक्षण गर्नका लागि एउटा प्रदेशमा करिब रु २५ लाख खर्च हुने अनुमान गरिएको बताए । उनले भने, “सर्वेक्षणका लागि आवश्यक पर्ने थप जनशक्ति लिइने छौँ, सर्वेक्षणमा रु एक करोडभन्दा बढी बजेट लाग्ने अनुमान छ ।”

विभिन्न गैरसरकारी संघसंस्थाको आर्थिक सहयोग र सहकार्यमा सर्वेक्षण गर्न लागेको संघले जनाएको छ ।

संघको ४०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा संघका प्रवक्ता प्रा घनश्याम भट्टराईले संघले आँखासँगै कान स्वास्थ्य सेवालाई पनि शुरु गरेको जानकारी दिए।

उनले भने, “समयअनुसार आँखा स्वास्थ्य सेवालाई उच्च गुणस्तरीय बनाउँदै लैजान हामीले कानको पनि उपचार सेवा शुरु गरिसकेका छौँ, हाल देशका २५ आँखा उपचार केन्द्रमा कानको उपचार सेवा इकाइ शुरु गर्ने तयारी छ ।”

संघअन्तर्गत ३७ जिल्लामा १८ आँखा अस्पताल तथा ८० आँखा उपचार केन्द्रमार्फत आँखा स्वास्थ्य सेवा प्रवाह हँुदै आएको छ । ती अस्पताल र केन्द्रबाट बर्षेनी २४ लाख जनताले बहिरङ सेवा, दुई लाख ५० हजारभन्दा बढी आँखा रोगीको शल्यक्रिया गरिँदै आएको प्रवक्ता भट्टराईले बताए ।

बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक प्रा डा आनन्दप्रसाद शर्माले नेपालको आँखा स्वास्थ्यका क्षेत्रमा नेत्रज्योति संघले पु¥याएको योगदान प्रशंसनीय भएको उल्लेख गर्दै पछिल्लो समय उपचार सेवासँगै नेत्र चिकित्सा शिक्षालाई अघि बढाएकोमा कृतज्ञता व्यक्त गरे ।

प्रवक्ता भट्टराईले आँखासम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान ९न्याम्स० सम्बन्धनमा नेत्र विशेषज्ञ तथा दृष्टि विशेषज्ञ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) बाट नेत्र सहायकका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मुलुकभर ९९ नेत्र विशेषज्ञ, ३८ दृष्टि विशेषज्ञ, २१० नेत्र सहायक र १५४ आइवर्कर संघअन्तर्गत कार्यरत छन् । संघले नेपालमा पहिलो पटक सन् १९८१ मा अन्धोपनको सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा नेपालको कूल जनसंख्याको शुन्य दशकलव ८४ प्रतिशत दृष्टिविहीन रहेको र एक दशमलव सात प्रतिशतको एउटा आँखा दृष्टिविहीन भएको पाइएको थियो ।

त्यसैगरि एक दशमलव ८५ प्रतिशतमा न्यून दृष्टिको समस्या, ९२ प्रतिशत दृष्टिविहीन ग्रामीण क्षेत्रमा रहेका, ८० प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने वा उपचारबाट रोक्न सकिने स्थितिमा रहेको सो सर्वेक्षणले देखाएको थियो ।

मुलुकमा ७२ दशमलव एक प्रतिशत अन्धोपन मोतीबिन्दुका कारणले हुने गरेको छ भने बाँकी ट्रकोमा, भिटामिन ‘ए’ को कमी, जलबिन्दु र दृष्टि पर्दाका रोगलगायत कारणले अन्धोपन हुने गरेको तथ्य पनि उक्त सर्वेक्षणले देखाएको थियो ।

पछिल्लो पटक सन् २०११ मा रापले गरेको आँखा स्वास्थ्य सर्वेक्षणको प्रतिवेदनअनुसार नेपालमा शुन्य दशमलव ३५ प्रतिशत जनतामा अन्धोपन रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *