भक्तपुरमा तीन सय शय्याको छातीरोग अस्पताल बन्दै, राज्यमन्त्री अर्यालले गरिन शिलान्याश

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्याल राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले निर्माण गर्न लागेको ३०० शैयाको छाती रोग विशेषज्ञ अस्पतालको आज शिलान्यास गर्दै । तस्विर: रमेश गिरी, भक्तपुर, रासस

काठमाडौँ, १० चैत । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले तीन सय शय्याको छाती रोग अस्पताल निर्माण प्रारम्भ गरेको छ । २९ करोड लागतमा केन्द्रले आफ्नो परिषरमै छाती रोग अस्पताल निर्माण शुरु गरेको हो ।

विश्व क्षयरोग दिवशको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अस्पताल भवनको शिलान्याश गरिन । आज शिलान्यास भएको अस्पताल भवन आगामी तीन बर्ष भित्र निर्माण सम्पन्न भई अस्पतालको रुपमा सञ्चालनमा आउने बताइएको छ ।

उक्त कार्यक्रममा सहभागी भएका प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले भक्तपुर जिल्लालाई देश कै पहिलो क्षयरोगमुक्त जिल्ला बनाइने बताए । उनले मानव अंग प्रत्यारोपण केन्द्रको भवन बनाउन भक्तपुरमा ४० रोपनी जग्गा उपलब्ध गराइदिन र भक्तपुर जिल्ला अस्पताललाई १०० शय्यामा विस्तार गरी आगामी तीन महिनाभित्र जनशक्तिको व्यवस्था गरिदिन मन्त्रीसँग आग्रह गरे ।

“भक्तपुरमा छाती रोग विशेषज्ञ अस्पताल बन्दैछ, मानव अंग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पताल, क्षयरोग अस्पताल, भक्तपुर अस्पताल यही जिल्लामा छ,”–बस्नेतले भने“अब भक्तपुरलाई स्वास्थ्यको ‘हव’ बनाउनु पर्छ, भक्तपुरमा अब ७०० श्ययाको स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर यहीँबाट डाक्टर उत्पादन गर्ने जिल्ला बनाउनुपर्छ ।”

यता स्वास्थ्य सचिव डा पुष्पा चौधरीले भने क्षयरोग उन्मूलन गर्न सबै क्षेत्रबाट लाग्नु जरुरी रहेको बताउँदै स्वास्थ्य केन्द्रसम्म आउन नसकेका क्षयरोगका बिरामीलाई खोजी गरेर उपचारमा ल्याउन सबै लाग्नुपर्नेमा जोड दिइन ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा केदारनरसिंह केसीले नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको जानकारी दिँदै आव २०७३÷०७४ मा ३१ हजार ७६४ नयाँ क्षयरोगका बिरामी पत्ता लगाई उपचाररत रहेको बताए ।

नेपालमा अझै १३ हजार नयाँ क्षयरोगका बिरामी पत्ता लगाई उपचारमा ल्याउनुपर्ने आवश्यकता रहेकोमा जोड दिँदै उनले नयाँ र पुराना गरी अझै २८ हजार बिरामीलाई उपचारको दायराभित्र ल्याउन बाँकी रहेको बताए ।

यसअवसरमा सार्क सचिवालयका महासचिव अम्जद हुसैन बि शियाल, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भान्डेलायर, मध्यपुर नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले क्षयरोग उन्मूलनमा सबैको सहयोग आवश्यक रहेकामा जोड दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *