भरतपुर क्यान्सर अस्पतालका कर्मचारीमाथि आगो लगाउने प्रयास

चितवन, ३ चैत । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ ।

अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि आज बिहान ८ः५० बजेको समयमा भरतपुर महानगरपालिका–७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुच्रे चोक नजिकै डिजल छर्केर आगो लगाउने प्रयास भएको हो ।

सापकोटाका अनुसार स्कुटरमा घरतर्फ आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले स्कुटर रोकेर हातपात गर्दै डिजल छर्केका थिए । सापकोटाले भन्नुभयो, “डिजल छर्कर्दै गर्दा मेरो टिसर्टमा समाएका थिए, टिसर्ट च्यातेर भाग्न सफल भएँ ।” आफू भाग्न नसकेको भए आगो समेत लगाउने सापकोटाले बताए ।

मोटरसाइकलमा आएका व्यक्तिसँग भएको कुराकानी बताउँदै सापकोटाले बताए “तँ गोकर्ण विष्ट होस् भने, मैले होइन भनेँ, अर्कोले यहीँ हो भन्यो र मलाई समाए ।” १९-२० वर्ष उमेरको एउटा र ३५-३६ वर्षको अर्को एक व्यक्तिले आफूलाई समाउने र डिजल खन्याउने गरेको उनले बताए । सँगै अर्को मोटरसाइकलमा दुईजना भए पनि ती कस्ता थिए आफूले अनुमान लगाउन नसकेको उनले बताए ।

हल्लाखल्ला भएपछि आफू भागेको र स्थानीयवासी जुटेपछि उनीहरु पनि भागेको सापकोटाले बताए । तत्काल सापकोटाले जिल्ला प्रहरी प्रमुख दीपक थापालाई फोन गरेपछि प्रहरी आएर अनुसन्धान थालेको पनि उनले जानकारी दिए ।

सापकोटामानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काउराष्ट्र) का जिल्ला अध्यक्ष र नेपाल बार एशोसिएसन चितवनका साधारण सदस्य पनि हुनुहुन्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *