पूर्वी चितवनको कालिका नगरपालिकामा डेङ्गु रोगविरुद्धको अभियान शुरु

चितवन, १ चैत । पूर्वी चितवनको कालिका नगरपालिकामा आजदेखि डेङ्गु रोगविरुद्धको अभियान शुरु भएको छ ।

कालिका नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा यहाँको बजार क्षेत्रमा उक्त अभियानअन्तर्गत आजदेखि घरघरमै स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

अभियानका क्रममा स्वयंसेविकाले डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्यूपा खोजी गरी नष्ट गर्ने तथा सचेत गराउने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए।

यसका लागि यहाँ १५ जनाको टोली परिचालन गरिएको छ । गर्मी मौसम बढ्न थालेकाले अब डेङ्गु रोग पनि फैलन सक्ने भन्दै रोेगविरुद्ध अभियान थालिएको उहाँको भनाइ छ ।

यसअघि भरतपुर महानगरपालिकामा बुधबारदेखि अभियान शुरु भएको थियो भने सोमबारदेखि राप्ती नगरपालिकामा अभियान थालिएको छ । जिल्लाको सबै क्षेत्रमा गरेर उक्त अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेविका गरी करिव १०० जना परिचालन गरिएको छ ।

हरेक क्षेत्रमा तीन दिन अभियान चलाइने छ । खैरहनी र रत्ननगरमा भने अर्को चरणमा अभियान चलाइने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कालिका नगरपालिका वडा नं ६ का अध्यक्ष विनोद रेग्मीले उक्त अभियानले घरघरमा सचेतना फैलने भन्दै यस्ता कार्यक्रम जरुरी रहेको बता्रउ ।

चितवनमा चालू आर्थिक वर्षको अहिलेसम्म ५७ जनामा डेङ्गु रोग लागेको पाइएको छ । त्यसमध्ये ३१ जना चितवनका बिरामी र बाँकी अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी हुन् ।

मुुख्यगरी एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्छ । घर वरपर फ्याँकिएका भाँडा, बट्टा, टायर टिन, ड्रमका टुक्रामा जमेको पानीमा यो लामखुट्टेले बच्चा हुर्काउने भएकाले यसरी पानी जम्न नदिई घर वरपर सरसफाइ गरे डेङ्गुबाट बच्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।

यसको खास उपचार नभएकाले लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ । अत्यधिक ज्वरो आउने, जिउ दुख्ने, बिबिरा देखिने भयो भने चिकित्सकलाई देखाउनसमेत जनस्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *