ट्रकोमा जनस्वास्थ्यको समस्याका रुपमा नरहेको

काठमाडौँ, ३० फागुन । नेपालमा आँखामा लाग्ने एक प्रकारको रोग (ट्रकोमा) जनस्वास्थ्यको समस्याका रुपमा अब नरहने भएको छ ।

यसका लागि स्वास्थ्य मन्त्रालयले विश्वस्वास्थ्य संगठनलाई जनस्वास्थ्यको समस्याका रुपमा सो रोग नरहेको प्रमाणीकरण गर्नसमेत अनुरोध गरेको छ । जनसंख्यामा पाँच प्रतिशतभन्दा तल सो रोग नदेखिएमा जनस्वास्थ्यको समस्या नभएको ठहरिन्छ ।

नेपाल नेत्रज्योति संघले संयुक्तरुपमा सबै जिल्लामा गरेको ट्रकोमा सम्बन्धी सर्वेक्षणबाट सो रोग पाँच प्रतिशतभन्दा कम रहेको देखिएको हो । विशेषगरी कैलाली, कञ्चनपुर, अछाम, बैतडी, कपिलवस्तु, दाङ, रोल्पा, दैलेख, रुकुम, सुर्खेत, रसुवा, बारा, पर्सा, चितवन, नवलपरासी, सर्लाही, रौतहट, डोटी, बाँके र बर्दियामा सो रोगको दर उच्च रहेको थियो ।

संघद्वारा आज आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई जनस्वास्थ्यको समस्याका रुपमा ट्रकोमा नरहेको विश्व स्वास्थ्य संगठनलाई प्रमाणीकरण गराउन प्रतिवेदन हस्तान्तरण गरिएको थियो ।

चिकित्सकका अनुसार मोतियाबिन्दुपछि ट्रकोमा अन्धोपनको प्रमुख कारकका रुपमा रहेको छ । स्वास्थ्य मन्त्रालयसित मिलेर संघले राष्ट्रिय ट्रकोमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा संघका अध्यक्ष तीर्थ मिश्रले सन् २०२० सम्ममा अन्धोपन उन्मूलन गर्ने लक्ष्यलाई हासिल गर्न संघले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *