मुटु, मिर्गौला र अर्बुद रोगका बिरामी बढ्दै

कविता उपाध्याय / रोल्पा, २९ फागुन । साविकको कोटगाउँ गाविसका ५७ वर्षीय दिलबहादुर विक चार पाँच महिनादेखि बिरामी परेका छन् ।

विककाअनुसार बिरामीपरेपछि उनमा मुटु दुख्ने, छाती दुख्ने शरीर सुन्निनेलगायतका समस्या देखिन थालेका थिए । निम्न आर्थिक अवस्थाका कारण उनले जिउले सक्दासम्म रोजीरोटीको बाटो अपनाइरहेका छन् । तर बिरामी परेका बेला पनि विकले काम गरेर थकित भएको भन्दै आफ्नो खानपानमा भने सुधार गर्न सकेनन्।

उनले अत्यधिक मात्रामा धूमपान तथा मद्यपान गरिरहे जसका कारण उनको स्वास्थ्यमा समस्या चुलिँदै गयो । व्यथाले च्याप्दै गएपछि तीन दिनदेखि उनी गम्भीर रुपमा बिरामी परेका छन् ।

बोल्दा ओठ लर्बराउछ, राम्रोसँग जिब्रो लाग्दैन, शरीर सुन्निएको छ, शक्ति कम भएको छ । यसरी व्यथाले चाप्दै लगेपछि उनी आइतबार जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा एक छोरा र दुई बुहारीको साथमा उपचारका लागि आएका थिए। डाक्टरले मिर्गौलामा समस्या भएका कारण उहाँको स्वास्थ्य बिग्रँदै गएको भनेपछि परिवारमा थप निराशा छाएको छ ।

विकले अत्यधिक मात्रामा जाँड, रक्सी र चुरोट सेवन गर्ने गरेको भए पनि केही दिनयता डाक्टरको सल्लाह बमोजिम जाँड, रक्सी तथा चुरोट खान छोड्नुभएको परिवारले बताएको छ ।

“घरमा हामीले जाँड, रक्सी, चुरोट नखानुस् भन्दा मान्नुभएन अहिले यो अवस्था आयो अब कसरी ससुरालाई बचाउने”, उनकी बुहारीले चिन्ता प्रकट गरिन् । यो अवस्थामा आएर विकलाई पनि विगतमा अनियन्त्रित रुपमा गरेको खानपिनले निकै पश्चाताप पारेको छ । “निरोगी भएर धेरै बाँच्न मन थियो तर थला परियो ।” उनले कष्टका साथ भने ।

यस्तै, जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा उपचारका लागि पश्चिम रोल्पाको दुरदराजबाट आइपुग्नु भएका दैले बुढाले पनि जीवनमा अनियन्त्रितरुपमा मदिरा सेवन गर्नेगरेको बताए । करिब सात महिना पहिलेदेखि उनको छातीमा क्यान्सर देखिएको छ । विक जस्तै बुढालाई पनि उमेरमा गरेको अत्यधिक जाँडरक्सी, हुक्का र सुर्ती सेवनले हिजोआज निकै पछुतो पारेको छ ।

उनको पनि आर्थिक अवस्था सवल छैन । बुढा थला परेपछि परिवारलाई साँझ बिहानको गुजारा चलाउनसमेत हम्मे हम्मे परेको उनको परिवारले जनाएको छ ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाकाअनुसार जिल्लामा मुटु, मिर्गौला र क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढ्दै गएको वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेयले बताए । उनका अनुसार धूमपान, मद्यपान, र सुर्ती सेवन नै यी रोग बढ्नुको मुख्य कारण हो ।

यसैगरी, चिल्लो खाना, बोसोयुक्त खाना, तारेको तथा भुटेको माछामासु, विषादीयुक्त औषधि प्रयोग गरेका तरकारी खानु पनि यी रोग बढ्नुका मुख्य कारण भएको उहाँको भनाइ छ ।

कार्यालयको तथ्यांकअनुसार यस आवमा मात्र मुटु, मिर्गौला र क्यान्सर रोगका बिरामीको संख्या ४६ पुगेको छ भने गतः आवमा मुटु, मिर्गौला र क्यान्सर रोगका गरी जम्मा ५८ जना बिरामी जिल्लाबाट सिफारिसमा परेका थिए ।

यसरी भएका बिरामीलाई विपन्न नागरिक उपचार सहयोगको लागि देशका विभिन्न अस्पतालमा सिफारिस गरेर पठाउने गरिएको पाण्डेले जानकारी दिए । उनका अनुसार यी रोगले परिवार तथा तिनका आफन्तलाई प्रताडित बनाउने गरेको छ । त्यसैले स्वस्थ बानी व्यवहार गर्नुका साथै खानपिनमा विशेष ध्यान दिनसके मात्र पनि यो रोगबाट केही हदसम्म छुटकारा पाउन सकिन्छ ।

यस्तै, जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका डा तेजेन्द्र साउदका अनुसार यी दीर्घ रोगले राज्य तथा बिरामीलाई थप भार पारिराखेको छ । प्रत्येक जिल्लाबाट यसरी बिरामीको संख्या बढ्दै गयो भने यसले सबैलाई समस्या निम्त्याउँछ ।

त्यसैले, आहारविहारमा विशेष ध्यान दिनसके केही मात्रामा रोगमा कमी आउनसक्छ । साथै, सबैले स्वास्थ्य बीमा गर्न सके भने यसले परिवार तथा सरकारलाई पनि केही हदसम्म भार घट्नसक्ने उनको सुझाव छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *