बौद्ध उपचार पद्धतिलाई स्वास्थ्य नीतिमा समावेश गरिनुपर्ने

काठमाडौँ, २० फागुन । जडीबुटीमा आधारित बौद्ध उपचार पद्धति सोवारिक्पालाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गरिनुपर्नेमा जोड दिइएको छ ।

सोवारिक्पा एसोसिएसन नेपालले आज आरुबारीस्थित सोवारिक्पा इन्टरनेशनल कलेजमा आयोजना गरेको स्वरिक डाक्टरलाई प्रमाणपत्र वितरण कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारले अरु चिकित्सा पद्धति जस्तै यसलाई पनि स्वास्थ्य नीतिमा समावेश गर्नुपर्ने बताए ।

“नेपाल बहुजाति, बहुधार्मिक, बहुभाषिकसँगै बहुजडीबुटी पद्धति भएको मुलुक हो, गौतम बुद्धले नै यो उपचार पद्धतिको शुरुवात गर्नुभएको हो, मैले पनि यो उपचार पद्धतिका माध्यमबाट स्वास्थ्य लाभ गरेको छु”–उनले भने । नेपालबाट शुरु भएको यो उपचार पद्धति हाल विश्वका धेरै देशमा प्रचलनमा रहेपनि यहीँ भने बिर्सिएकाले पुनःजागरण गरिनुपर्ने उनको भनाइ थियो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा नरेशमान बज्राचार्यले सोवारिक्पा उपचार पद्धतिको संरक्षणका लागि सरकारले नै काम गर्नुपर्ने बताए । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा व्यवस्था विकास समितिका अध्यक्ष खेन्पो कर्मा लेप्से लामाले हिमाली क्षेत्रका केही स्थानमा अझै पनि बिरामीको उपचारका लागि यो पद्धति प्रचलनमा रहेपनि धेरैलाई यसका बारेमा जानकारी नभएकाले प्रचारप्रसार हुनुपर्ने विचार राखे ।

सो अवसरमा एसोसिएसनका अध्यक्ष स्वरिक डा तेञ्जिङ धर्के गुरुङले आज १२० सोवारिक्पा पद्धतिका चिकित्सकलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी गराए। केही समयपछि थप ३०० चिकित्सकलाई पनि यो उपचार पद्धतिमा काम गर्न प्रमाणपत्र प्रदान गरिने एसोसिएसनले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *