डोटीका चिकित्सकले जिल्ला छाडेपछि अस्पताल सुनसान, बिरामीको विचल्ली

चिकित्सक नभएपछि सुनसान रहेको जिल्ला अस्पताल डोटी । सुरक्षाको माग गरेर चिकित्सकहरुले जिल्ला छाडे पछि अस्पताल चिकित्सकीय सेवा ठप्प बनेका हुन् । तस्वीरः केशबचन्द्र महरा रासस

डोटी । असुरक्षाका कारण जनाउँदै सबै चिकित्सकले जिल्ला छाडेपछि डोटीको सिलगडीस्थित जिल्ला अस्पताल सुनसान बनेको छ । चिकित्सक नै नभएको भन्दै विरामी आउन छाडेपछि अस्पताल सुनसान बनेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख सतिश विष्टले अरुबेला १५ बेडको सो अस्पतालमा दैनिक रुपमा ५० देखि ७० जना विरामी आउने गरेको बताउँछन् । तर पछिल्लो केही दिन यता अस्पतालमा दैनिक रुपमा मुस्किलले ४/५ जना विरामी आउने गरेका छन् । तिनिहरुको पनि राम्ररी उपचार हुन पाएको छैन ।

‘गत आइतबार डिउटीमा रहेका चिकित्सक डा जितेन्द्रकुमार सिंहमाथि विरामीका आफन्तले आक्रमण गरेपछि यस्तो अवस्था आएको हो । आक्रमणपछि चिकित्सकसंगले असुरक्षा बढेको भन्दै सबै चिकित्सकलाई जिल्ला छाडी काठमाडौँ आउन उर्दी जारी गरयो । सोही उर्दी अनुसार गत बुधबारबाट सबै चिकित्सकले जिल्ला छाडेका छन् । अस्पतालमा तीन जना चिकित्सक कार्यरत थिए,’ अस्पताल प्रमुख समेत रहेका विष्टले भने ।

चिकित्सकहरुले जिल्ला छाड्दा आम सर्वसाधारणहरु मर्कामा परेका छन् । ‘एक जनाले बदमासी गरयो भनेर सबैलाई अफ्टेरो पर्ने गरी जिल्ला नछाडेको भए हुनेथियो,’ स्थानीय कमल शर्माले भने। उनले एउटाले गल्ती गरयो भन्दैमा सबै जनालाई असर हुने गरी जिल्ला छाड्न उर्दी गरेको भन्दै चिकित्सक संघको समेत आलोचना गरे ।

‘चिकित्सकको सुरक्षा हुनुपर्छ । त्यसमा दुई मत भएन । सुरक्षाको काम स्थानीय प्रशासनले गर्नुपर्ने हो र गर्न पनि पर्छ । तर यसरी जिल्ला छाडेर सेवा अवरुद्ध गरेर डाक्टर प्रतिको सम्मान कसरी बढ्छ ?’ उनले प्रश्न गरे ।

जिल्ला स्वास्थ्य प्रमुख बिष्टले भने सोही विषयमा कुरा गर्न जिल्ला प्रशासनले आज बेलुका सर्वदलिय बैठक आवहान गरेको भन्दै त्यसले समाधानको उपाय खोज्न सक्ने बताए ।

गत आइतबार उपचारका लागि आएकी एक महिलाका आफन्तले चित्तबुझ्दो उपचार नगरेको भन्दै डाक्टर सिंह माथि कुटपिट गरेको थियो । कुटपिटमा सम्लग्नरहेको भन्दै प्रहरीले विरामीका आफन्त बताउने विजयसिह विष्ट, टेकबहादुर विष्ट, हिक्मत बहादुर विष्ट र अरुण महतलाई नियन्त्रणमा लिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *