चिकित्सा शिक्षा आयोगका आठै जना सदस्य नियुक्त
काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले चिकित्सा शिक्षा आयोगमा आठै जना सदस्य नियुक्त गरेको पाइएको छ । यसअघि सात जनाको मात्रै नियुक्त भएको र एक पद रिक्त रहेको बताइएको थियो । उक्त रिक्त पदमा डेन्टल तर्फका प्रतिनिधी राख्न डा . गोविन्द केसीले माग समेत गरेका थिए ।
तर आयोगका सचिव लालजंग चौहानले सरकारले आठ जना सदस्यहरुको नियुक्ती गरिसकेको जानकारी दिए । गत २९ माघमा बसेको मन्त्रिपरिषदको बैठकले आठ जना सदस्यहरुको मनोनयन गरेको हो ।
सचिव चौहानले त्यसअघि ने सरकारले आयोगको उपाध्यक्ष नियुक्त गर्न लोक सेवा आयोगका प्रमुखको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति समेत गठन गरेको बताए । सो समितिमा चिकित्सकको तर्फबाट डा. दिव्यासिंह शाह रहेकी छन् ।
आयोगका सदस्यहरु को को भए ?
सचिव चौहानका अनुसार अयोगका सदस्यहरुमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डीन प्राडा जगदीश अग्रवाल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारी, नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक तारा पोखरेल रहेका छन् ।
यस्तै एशोसिएसन अफ हेल्थ प्रोफेसन्स एजुकेशनिष्ट अफ नेपालका अध्यक्ष डा. शेखरबाबु रिजाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा सिर्जन श्रेष्ठ, विशेष अदालतका पूर्व अध्यक्ष एवं चिकित्सा शिक्षा जाँचबुझ आयोगका संयोजक रहेका गौरीबहादुर कार्की र स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव विजया केसीलाई सदस्यका रुपमा नियुक्त गरिएको छ ।
आयोगको सचिवालय भक्तपुरमा
यसैबीच चिकित्सा शिक्षा आयोगको सचिवालय सोमबारबाट सञ्चालनमा आएको छ । भक्तपुर सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको दुई नम्बर भवनलाई आयोगले आफ्नो सचिवालयको रुपमा प्रयोगमा ल्याएको छ ।
‘हामीले हाललाई आयोगको सचिवालय सानोठिमी स्थित शैक्षिक जनशक्ति विकास केन्द्रमा रहने गरी स्थापना गरयौँ । हिजोबाट सचिवालय सञ्चालनमा आएको छ,’ सचिव चौहानले भने ।
सम्पर्क इमेल : [email protected]