छैठौँ स्वास्थ्य सेवा दिवस भव्य रुपमा मनाउने तयारी
काठमाडौँ । सरकारले छैठौँ स्वास्थ्य सेवा दिवस मनाउन तयारी थालेको छ । आगामी १५ फागुनमा मनाइने दिवसका लागि आइतबार मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा मुल समारोह समितिको बैठक बसेको छ ।
बैठकले यसबर्षको स्वास्थ्य सेवा दिवसको नारा समेत तय गरेको छ । यसबर्षको नारा, “राज्यको सबै तहमा स्वास्थ्य सेवाको पूर्वाधार : गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा; सम्बृद्धि एवं दीगो विकासको आधार” तय गरिएको छ ।
बैठकले स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको अध्यक्षतामा समारोह उपसमिति समेत गठन गरेको छ । हिजो बसेको मुल समारोह समितिको बैठकले स्वास्थ्य सेवा दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।
सोही बैठकलले स्वास्थ्य सचिव ज्यूको अध्यक्षतामा उपसमिति गठन गरेको छ । त्यसले दिवसलाई कसरी भव्य बनाउने भन्ने बारेमा काम गर्नेछ । मन्त्रालयका उपसचिव भवनाथ खतिवडाले बताए ।
पाँच जना कर्मचारी पुरस्कृत हुने
स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले हरेक पाँच जना कर्मचारीहरुलाई पुरस्कृत गर्ने गरेको छ । त्यसमा एक जनालाई नगद एक लाख रुपैयाँ सहित उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार र अरु चार जनालाई नगद ५० हजार रुपैयाँ सहित स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित गर्ने चलन छ ।
‘त्यसका लागि हामीले देशैभरबाट सम्भावित नामहरु मागि रहेका छौँ । पुरस्कार छनौट समितिले त्यसमध्येबाट उत्कृष्ठ कर्मचारी छनौट गर्छ,’ उपसचिव खतिवडाले भने ।