स्वास्थ्यचौकी निर्माणका लागि जग्गा दान

लहान । सिरहा विष्णुपुर गाउँपालिका–१ मा स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीयवासी इन्द्रदेव यादवले जग्गा दान गरेका छन् ।

वडा अध्यक्ष गोपिन्द्र यादवको पहलमा स्वास्थ्यचौकी भवन निर्माणका लागि यादवले आफ्नो नाममा रहेको ६ कठ्ठा जग्गा दान गरेका हुन् । समाजसेवी यादवले उपलब्ध गराएको सो जग्गामा अहिले शहरी विकास तथा भवन डिभिजन कार्यालय राजविराजबाट रु एक करोड ७८ लाखको लागतमा स्वास्थ्यचौकी भवन निर्माण भइरहेको स्वास्थ्यचौकी इञ्चार्ज चन्द्रकिशोर यादवले जानकारी दिए।

पूर्ण खोप गाउँपालिका घोषणा

सिरहाको विष्णुपुर गाउँपालिकालाई हिजो एक कार्यक्रमकाबीच पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको पाँचै वडाका जन्मेकादेखि २३ महिनासम्मका सबै ८५५ बालबालिकालाई विभिन्न खोप लगाइ गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको हो ।

यसअघि अर्नमा गाउँपालिका पूर्ण खोप घोषणा भईसकेको छ । जिल्लाका १६४ वडामध्ये ४० वडा पूर्ण खोप घोषणा भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

विष्णुपुर गाउँपालिका १ का वडा अध्यक्ष गोपिन्द्र यादवको अध्यक्षतामा आयोजित पूर्ण खोप घोषणा कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज चन्द्रकिशोर यादवले बिष्णुपुर गाउँपालिकाका सबै वडाका ८५५ बालबालिकालाई दादुरा, बिसिजीलगायत पूर्ण खोप लगाइएर पूर्ण खोप गाउँपालिका घोषणा गरिएको जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *