सहभागिता न्यून भन्दै प्रदेश नं ४ का स्वास्थ्यकर्मीले गराए प्रमुख सचिव मार्फत ध्यानाकर्षण

कास्की, २१ माघ ।  प्रदेश सरकारमा आफूहरुको प्रतिनिधित्व न्युन गरिएको भन्दै ४ नम्बर प्रदेशका स्वास्थ्यकर्मीहरुले प्रमुख सचिव मार्फत केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले आज ४ नम्बर प्रदेशका प्रमुख सचिव लक्ष्मण अर्याललाई ज्ञापन पत्र बुझाई केन्द्र सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार प्रदेश सरकारमा स्वास्थ्य समूहबाट चौथो देखि एघारौँ तहसम्मका १४० जना कर्मचारी राख्ने भन्दै स्वास्थ्य मन्त्रालयले गत १७ पुसमा निवेदन मागेको थियो । सो अनुसार स्वास्थ्यबाट ९६८ जनाले निवेदन दिएका थिए । तर गत १० माघको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि स्वास्थ्य समूहबाट १० जना मात्रै लिने गरी दरबन्दी स्वीकृत गरेको थियो ।

ज्ञापन पत्र बुझाउनेहरुमा  प्रदेश नम्बर ४ बाट नेपाल चिकित्सक संघ, नेपाल नर्सिड संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल जनस्वास्थ्य संघ नेपाल आयुर्वेद चिकित्सक संघ र स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ नेपाल रहेका छन् । यसैगरी नेपाल राष्टिय जनस्वास्थ्यकर्मी संघ, हेल्थ असिस्टेन्ट संघ नेपाल, जनस्वास्थ्य युवा समाज नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशील स्वास्थ्य कर्मी संघ रहेका छन् ।

उनीहरुले बुझाएको ज्ञापनपत्रमा ‘स्वास्थ्य सेवा विशिष्ट अति संवेदनशील तथा अत्यन्तै प्राविधिक विषय भएको र निजामती कर्मचारीहरुको झण्डै आधा हिस्सा ओगटने संख्या रहेको अवस्थामा स्वास्थ्य सेवाबाट प्रदेश मन्त्रालयमा सचिव स्तरको कर्मचारीको दरबन्दी समेत सृजना नहुँदा देशैभरका स्वास्थ्यकर्मीको मनोवल खस्केको व्यहोरा अनुरोध छ,’ भनिएको छ ।

यसअघि शनिबार पोखराका स्वास्थ्यकर्मीले प्रदेश मन्त्रालयका लागि सरकारले दरबन्दीमा विभेद गरेको भन्दै प्रमुख सचिवमार्फत केन्द्र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *