नेपालीको आयू बढ्यो, बृद्ध भत्ता पाउने उमेर घट्यो

काठमाडौँ, ११ माघ ।  सरकारले ६५ बर्ष उमेर पुगेका नागरिकलाई बृद्ध भत्ता (सामाजिक सुरक्षा भत्ता) दिने निर्णय गरेको छ । अहिलेसम्म ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकले बृद्ध भत्ता बुझ्दै आएका थिए ।

बुधबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदको बैठकले ७० पुगेपछि दिइदै आएको बृद्धभत्ता ६५ बर्षमै उपलव्ध गराउने निर्णय गरेको हो ।

नेपालमा बृद्ध भत्ताको शुरुवात २०५१ सालबाट भएको हो । एमाले नेतृत्वको सरकारले ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई मासिक १ सयका दरले बृद्ध भत्ताको उपलव्ध गराउन सुरु गरेको थियो ।

तत्कालिन प्रधानमन्त्री  मनमोहन अधिकारीको नेतृत्वमा गठित त्यतिवेलाको सरकारले केही ल्याएका केही लोकप्रिय र नयाँ कार्यक्रममध्येको थियो बृद्धभत्ता दिने कार्यक्रम । अहिले सोही कार्यक्रमले निरन्तरता पाएको हो ।

कर्णालीका नागरिकले ५५ बर्षमै पाउने
सरकारको हिजोको निर्णय पछि अब कर्णालीका नागरिकले ५५ बर्षमै बृद्धभत्ता पाउनेछन् । पञ्जीकरण विभागका अनुसार सरकारको निर्णयपछि कर्णालीका सबै समुदायका नागरिक, देशभरका दलित समुदायका नागरिक र एकल महिलालाई ५५ बर्ष देखिनै बृद्धभत्ता दिनुपर्नेछ ।
सरकारले यसअघि कर्णालीका सबै समुदायका नागरिक र देशभरका दलित समुदाय तथा एकल महिलालाई ६० बर्ष पुगेपछि भत्ता बितरण गर्दै आएको थियो ।

औषत आयू बढ्यो बृद्ध भत्ता पाउने उमेर घट्यो
विसं २०५१ सालमा बृद्धभत्ता शुरु गर्दा नेपालीको औषत आयू ५८ बर्ष थियो । यतिवेला औषत आयू बढेर ७१ पुगेको छ । तर सरकारले बृद्ध भत्ताको उमेर भने ७० बाट घटाएर ६५ मा झारेको छ ।

औषत आयू बढेकै कारण सरकारी सेवामा कार्यरत चिकित्सकहरुले आफूहरुको अनिवार्य अवकाशको उमेर ६० बाट बढाई ६५ बर्ष पुरयाउन पर्छ भन्दै मन्त्रिपरिषदमा प्रस्ताव लैजान दवाव दिएका थिए । त्यसो त अहिले पनि प्रधानन्यायधीशको अनिवार्य अवकाश हुने उमेर समेत ६५ तोकिएको छ ।

जे होस सरकारको यो निर्णयले बहुसंख्यक नेपालीले सरकारी सुविधा पाउने देखिएको छ । सरकारले अहिले बृद्धभत्ता बापत मासिक २ हजार रुपैयाँ उपलव्ध गराएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *