तीन जिल्लामा देखियो मौसमी रुघाखोकीको प्रकोप

काठमाडौँ, १० माघ । पछिल्लो तीन साता यता देशका तीनवटा जिल्लामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा)को प्रकोप देखिएको छ ।

सोलुखुम्बु, जाजरकोट र डोटीमा मौसमी रुघाखोकी इन्फ्लुएन्जा ए एच३एन२ र इन्फ्लुएन्जा बी देखिएको हो ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती जिल्लाबाट पठाइएका स्वावको नमूना परीक्षण गर्दा इन्फ्लुएन्जा ए एच३ एन २ र इन्फ्लुएन्जा बी देखिएको हो ।

प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोका अनुसार सोलु खुम्बुबाट ल्याइएको १६ वटा नमूना परीक्षण गर्दा सबै नमूना एच३ पोजेटिभ देखिएको थियो । यस्तै जाजरकोटबाट ल्याइएका पाँचवटा मध्ये ४ वटामा र डोटीबाट ल्याइएका १२ वटा मध्ये एच३ तीन वटा र इन्फ्लुएन्जा बी २ वटा पोजेटिभ देखिएको थियो ।उनले केही दिन यता सोही लक्षण कालिकोटमा समेत देखिएकोले जिल्लाबाट नमूना आएर परीक्षणकै क्रममा रहेको बताए । ‘अहिले सोलु, जाजरकोट र डोटीका केही स्थानमा सिजनल इन्फ्लुएन्जा आउटब्रेक भएको देखिएको छ । कालिकोटको रिपोर्ट आइसकेको छैन,’ उनले भने ।

गतवर्ष हिउदमा विभिन्न जिल्लामा स्वाइनफ्लु भनिने इन्फ्लुएन्जा ए एच१एन१ले हैरान पारेको थियो । सो प्रकोपबाट विभिन्न जिल्लाका ७ जनाको मृत्यु भएको बताइएको थियो । पछिल्लो समयमा एच१एन१ नदेखिएपनि एच३एन२ तथा इन्फ्लुएन्जा बी जस्ता भाइरस देखा परेको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हंङकङ फ्लुको नामले समेत चिनिने यो भाइरस केटाकेटी, बुढाबुढी, दीर्घरोगी जस्ता रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुमा खतरा पैदा गर्ने गरी देखिएको बताए ।

युरोप अमेरिका जस्ता पश्चिमा मुलुकमा त यो भाइरसले अलिक नै सताएको छ । ‘ हामीकहाँ पनि यसले जरा गाडीसकेको । विभिन्न समयमा विभिन्न रुपमा यो भाइरस देखा परेको छ । यसैले सतर्क हुन जरुरी छ,’ डा.  पुनले भने ।

उनले केटाकेटी, बुढाबुढी तथा दीर्घरोगीहरुले रुघा खोकी लाग्दा सामान्य बढी सचेत हुनुपर्ने बताए । ‘कहिले काँही यस्ता व्यक्तिमा सामान्य समस्या त हो भनि बस्दा गम्भीर परिणाम ल्याउन सक्छ ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *