म्याग्दीमा अपाङ्गमैत्री स्वास्थ्य चौकी भवन निर्माण शुरु

म्याग्दी, ९ माघ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा १५ श्यया क्षमताको अपाङ्गमैत्री सुविधासम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ ।

रु एक करोड ५६ लाखको लागतमा निर्माण हुने सो भवन दुई तले र भूकम्प प्रतिरोधी भवनका लागि वडाध्यक्ष कृष्णप्रसाद बरुवाल र जग्गादाता गोविन्द खड्काले सोमबार श्रीपञ्चमी पर्वका दिन संयुक्तरुपमा शिलान्यास गरे ।

हाल घारको स्वास्थ्यचौकी साँघुरो कोठामा सञ्चालन भइरहेको छ । स्वास्थ्य चौकीलाई आधुनिक उपकरणसहित सेवा सञ्चालन गर्नेगरी शुरु भएको अभियानमा स्थानीयले चन्दा संकलन गरी रु आठ लाख जुटाएर थप दुई रोपनी नौ आना जग्गा स्वास्थ्य चौकीलाई खरिद गरेपछि चार रोपनी एक आना क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको भवनको काम शुरु गरिएको वडाध्यक्ष बरुवालले जानकारी दिए ।

१५ श्यया क्षमताको दुईतले भवनका लागि शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत निर्माण कार्य शुरु गरेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ठकराज बरुवालले बतए ।

अध्यक्ष बरुवालका अनुसार आगामी वर्ष २०७५ को असार महिनाभित्र निर्माणकार्य सम्पन्न गरिनेछ । गाउँमै सुविधासम्पन्न स्वास्थ चौकीको भवन निर्माण हुन लागेपछि स्थानीयवासी उत्साहित भएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *