ल्याब सेवा सञ्चालन, ज्येष्ठ नागरिकको निःशुल्क परीक्षण

डडेल्धुरा ४, माघ । डडेल्धुराको अजयमेरु गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडाका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्र रहेको लक्षित समुदायका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिन र उनीहरुलाई नजिकै स्वास्थ्य संस्थामा छिटो र छरितो किसिमले जाँच गराउने नीति लिएर गाउँपालिकाका पाँच वटा वडामा ल्याब सेवा सञ्चालन गराइएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्टले बताए ।

अजयमेरु गाउँपालिकाको २ नं वडामा रहेको स्वास्थ्य चौकीमा ल्याब सेवाको उद्घाटन गर्ने क्रममा अध्यक्ष भट्टले अजयमेरु गाउँपालिकालाई समृद्ध र स्वस्थ वडाका रुपमा विकसित गर्नका लागि पनि सबै वडामा खोलिएको ल्याब सेवाले उदाहरणीय कार्य गर्ने बताए ।

वडामा नै ल्याबको व्यवस्था भएसँगै स्थानीयवासी हर्षित भएका छन् । डडेल्धुरा जिल्लामा रहेका सात पालिकामध्ये अजयमेरु गाउँपालिकाले मात्रै यो सेवा सञ्चालन गरेको हो । ल्याब सेवा सञ्चालन भएसँगै स्थानीय ज्येष्ठ नागरिक अपाङ्ग, बालबालिका, एकल महिला र अन्य सर्वसाधारण पनि खकार, रगत, पिसाब, दिशा जाँच गर्न पाउने भन्दै खुसी भएका छन् । यो सेवा सञ्चालन नहुँदा अजयमेरु गाउँपालिकाका मानिस रगत, खकार परीक्षण गर्नका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको थियो । अजयमेरु गाउँपालिकाको ६ नंमा पनि चाँडै यो सेवा सञ्चालन गरिने अध्यक्ष भट्टले जानकारी गराए ।

ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप गाउँपालिकाबाट छ वटै वडाका ४५० भन्दा बढीलाइ कम्मल र टोपी वितरण गरेको अजयमेरु गाउँपालिका–१ का वडाध्यक्ष दत्तीसिंह भण्डारीले जानकारी गराए। अजयमेरु गाउँपालिकाका छ वटै वडाले स्थानीय जनप्रतिनिधि आएसँगै तीव्ररुपमा विकास निर्माण र अन्य गतिविधि सञ्चालनमा ल्याएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *