सेनाको देवघाट स्वास्थ्य शिविरलाई पुरानो मेडिकल कलेजको सहयोग
चितवन २ माघ । मकर संक्रान्तिको अवसरमा नेपाली सेनाको दि फेमस महिन्द्र दल गण भरतपुरले देवघाटमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पुरानो मेडिकल कलेज र जनप्रेमी मेडिकल हलको प्रविधिक सहयोगमा सेनाले एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
संक्रान्ति नुहाउन आउने बालक बृद्ध तथा अपांग लगायतका सबैखाले भक्तजनको स्वास्थ्यलाई ध्यान दिदै आयोजना गरिएको उक्त शिविरमा ३५० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
नेपाली सेनाले हरेक वर्ष माघ १ गते विभिन्न अस्पताल सँगको सहकार्यमा यस्ता निशुल्क शिविर सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि त्यस कार्यलाई निरन्तरता दिइएको महिन्द्र दल गणका मेजर राम अधिकारीले बताए ।
सो शिविरका लागि उक्त शिविरका लागी औषधी जनप्रेमी मेडिकल हलका तर्फबाट भोला लामिछानले साथै विनायक हेल्थकेयर सिस्टमले तथा क्लिनिक नेपालले समेत उपलब्ध गराएको थियो ।
मेजर अधिकारीको कमाण्डमा सञ्चालित उक्त शिविरमा गणका तर्फबाट ६ जनाको मेडिकल टिम, नं. ७ फि.ए. गुल्म हेटौडाबाट ४ मेडिकल अधिकृत टोली खटिएको टोली प्रमुख दिपकराज धमनियाले बताए ।
चितवनमा २४ वर्ष देखि स्वास्थ्य सेवा पुर्याइरहको पुरानो मेडिकल कलेजका तर्फबाट उक्त शिविरमा विशेषज्ञ डाक्टर सहित १० जनाको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।
एमडीजीपी डाक्टर रोहन झाको नेतृत्वमा हाडजोर्नी विशेषज्ञ डा. सुमन लामिछाने, नाक कान घाँटी रोग विशेषज्ञ डा. विकेश शर्मा तथा जनरल फिजिसियन डा. प्रकाश अर्याल सहित अन्य मेडिकल अफिसरहरुले सेवा प्रदान गरेका थिए ।
पुरानो मेडिकल कलेजका बरिष्ठ बजार तथा जनसम्पर्क निर्देशक दुर्गाप्रसाद न्यौपानेले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शिविरका लागि सेनासंग सहकार्य गरेको बताए । उनले सामाजिक संघ संस्थाहरु सहकार्य गरी कलेजले यस्ता जनमुखी, चेतनामूलक कार्यक्रम निरन्तरता दिइने बताए ।