क्यान्सर रोगी गुरुङको उपचारार्थ इजरायलबाट रु एक लाख ४५ हजार सहयोग

 चितवन, १७ पुस । चितवनको भरतपुरका क्यान्सर रोगी आशबहादुर गुरुङको उपचारार्थ इजरालयबाट आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

चितवन समाज इजरायलद्वारा संकलित रु एक लाख ४५ हजार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा क्यान्सर रोगी गुरुङलाई उपलब्ध गराइएको हो ।

चितवन यूवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले आर्थिक अभावका कारण उपचारमा समस्या रहेको जानकारी पाएपछि चितवन समाज इजरायलले संकलन गरेर पठाएको रकम घरमै पुगेर गुरुङलाई हस्तान्तरण गरिएको बताए ।

भरतपुर महानगरपालिका वडा नं २३ जगतपुर निवासी गुरुङले आर्थिक सहयोगले हर्षित भएको भन्दै आफ्नो उपचारका लागि प्रवासबाट सहयोग संकलन गरेकामा धन्यवाद दिए ।

गालामा क्यान्सर भएका गुरुङको चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । गुरुङ सामान्य ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए ।

गुरुङको उपचारका लागि सात सदस्यीय सहयोग संकलन समितिसमेत गठन गरेर काम भइरहेको छ । गुरुङको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग गरिदिन चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिले सबैमा अपिल गरेको छ ।

अघिल्लो महिनामा पनि चितवन समाज इजरायलले भरतपुर महानगरपालिका वडा नं ११ भोजाडका मिर्गौलापीडित ५६ वर्षीय मानबहादुर गुरुङको उपचारका लागि रु एक लाख सहयोग गरेको थियो ।

चितवन समाज इजरायलको पहलमा संकलन भएको रकम चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत उपलब्ध गराइएको समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *