दृष्टिविहीनमुक्त बनाउन ‘आइ क्याप फोर चितवन’ अभियान

44
Shares

चितवन, ७ कात्तिक । जर्मनेली स्वयम्सेवी महिलाको पहलमा जिल्लालाई दृष्टिविहीनमुक्त बनाउने ‘आइ क्याप फोर चितवन’ अभियान शुरु गरिएको छ ।

पटक पटक नेपाल घुम्न आएकी जर्मनेली स्वयम्सेवी काट्रियको पहल तथा सपोर्ट एण्ड केयर पुनःस्थापना केन्द्र रत्ननगर–९ को अगुवाइमा सो अभियान शुरु गरिएको हो ।

‘बिना दृष्टि अधूरो सृष्टि’ भन्ने मूल नारासहित परीक्षण परियोजनाका रुपमा जिल्लाका आठ ग्रामीण र विकटस्थलमा अभियानअन्तर्गत बृहत् निःशुल्क आँखा शिविर शुरु गरिएको छ ।

अभियान रत्ननगरका तीन स्थान, कालिका नगरपालिकाका दुई तथा भरतपुर महानगर, राप्ती नगरपालिका र माडी नगरपलिकाका एक एक स्थान गरी आठ स्थानमा शिविरमार्फत आँखाको परीक्षण शुरु गरिएको हो । सोमबार रत्ननगरको जिरौनामा दुई सय ५६ जनाको आँखाको परीक्षण र समस्या देखिएकालाई उपचार गरेर अभियान शुरु गरिएको हो । अभियानअन्तर्गत पहिलो चरणमा जिल्लाका दुई हजार बढी व्यक्तिको आँखा परीक्षण गरिनेछ ।

एक दिन बिराएर आठ ठाउँमा पहिलो चरणमा शिविर गरिने छ । काट्रियले आफू नेपालका विभिन्न ठाउँमा घुम्न आएकामा सबैभन्दा धेरै चितवनमा आँखाका समस्या भएका बिरामी भेटेको भन्दै जर्मनीमा विभिन्न नागरिकबाट सहयोग तथा चन्दाबाट संकलित रकमबाट शिविर शुरु गरिएको बताए ।

अभियानका संयोजक तथा पुनःस्थापना केन्द्रका अध्यक्ष राजबन्धु गौतमले बिरामीको समस्या पहिचान गरी उपचार गर्ने र शिविरमार्फत निःशुल्क चश्मादेखि औषधि वितरण र सबै उपचार खर्च बेहोरिने व्यवस्था मिलाइएको बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *