स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन

धादिङ, २ असोज । महादेवस्थान स्वास्थ्यचौकीमा बालबालिकालाई खुवाउने सिटामोल सकिएको महिना दिन भयो । स्वास्थ्यचौकीको सूचना बोर्डमा सिटामोल सकिएको सूचना टाँसिएको छ ।

खाद्यान्न, पानी, शिक्षा, विद्यालयबाट बञ्चित बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ब्रुसवाङकी २२ वर्षीया शुक्रिमाया चेपाङको पेटमा पाँच महिनाको बच्चा छ । तीन बच्चाको आमा भइसक्नुभएकी शुक्रिमायाको सानो छोरी डेढ वर्षको भइन् । सबैभन्दा सानो नानी काखमा बोकेर जिल्ला समन्वय समितिका संयोजकलाई आफ्नो दुःख सुनाउन आएकी शुक्रिमाया स्वास्थ्यचौकी जान दिनभरि हिँड्नु पर्छ तर औषधि किनेर बच्चालाई खुवाउनुपर्ने भएकाले स्वास्थ्यचौकी नगएको बताइन् । घरमा खानेकुरा नभएर सिस्नुको खोले खाएर आफू गाउँको समस्या सुनाउन सरकारको मान्छे आएको भन्ने थाहा पाएर बच्चा बोकेर भेला भएकी थिइन्।

सरकारले स्वास्थ्यचौकीमै गर्भवती जाँच गराउने र स्वास्थ्यचौकीमै सुत्केरी गराउने बृहत् अभियान सञ्चालन गरेको भए पनि यो चेपाङ गाउँमा यसको कुनै असर परेको छैन । सूर्यमाया चेपाङले जन्माएको तीन बच्चा पनि घरमै हो । स्वास्थ्यचौकी जान नै अप्ठ्यारो भिरको बाटो भएकाले कोही पनि जान नसकेको गाउँकी अगुवाका रुपमा रहेकी सूर्यमायाले बताइन् ।

जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल जिल्लाको सबै अवसर र सुविधाबाट बञ्चित भएको ब्रुसवाङको समस्या समाधानका लागि आफै हिँडेर गाउँ पुगेका थिए । चितवन र धादिङको सिमानामा रहेको ब्रुसवाङ महाभारतको सबैभन्दा उच्च ठाउँमा रहेकाले यहाँ जीवन कष्टकर छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *