निजी फार्मेसी हटाउन टिचिङ अस्पतालको अटेरी

काठमाडौँ, २ असोज ।महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले सर्वोच्च अदालतको आदेशविपरीत अस्पतालको हाताभित्र निजी फार्मेसी हटाउन अटेरी गरेको छ । सर्वोच्चले अस्पताल परिसरभित्रका निजी फार्मेसी हटाउन आदेश दिएको दुई वर्ष बित्दा पनि टिचिङले अझै हटाएको छैन ।

सरकारले सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी खोल्ने निर्णय गरी अघिल्लो वर्ष नै आवश्यक रकमसमेत निकासा गरिसकेको थियो । सर्वोच्चको आदेशअनुसार सरकारी अस्पतालभित्र निजी फार्मेसी सञ्चालनमा रोक लगाइएको छ । निजी फार्मेसी सञ्चालन नियन्त्रण गर्न सरकारले ‘अस्पताल फार्मेसी सेवा निर्देशिका ०७२ जारी गरेको छ । टिचिङले भने उक्त निर्देशिकाविपरीत अस्पताल परिसरभित्र निजी फार्मेसी चलाइरहेको छ ।

यहाँ ४ निजी फार्मेसी सञ्चालनमा छन् । केहीले त नामसमेत नराखी चलाइराखेका छन् । परिसरभित्र अस्पतालका आफ्नै २ फार्मेसी पनि सञ्चालनमा छन् । अस्पतालको फार्मेसीमा भने औषधिको सधैं अभाव रहने बिरामीहरूको गुनासो छ ।

दाङका कुमार आचार्यलाई डाक्टरले ७ थरी औषधि लेखिदिए । अस्पतालको फार्मेसीमा ३ थरी मात्रै पाइएकाले बाँकी निजी फार्मेसीबाट किन्न उनी बाध्य भए । ‘सस्तो औषधि मात्रै भित्र पाइयो, महँगो त निजी फार्मेसीमै किन्नुपर्ने रहेछ,’ उनले भने । अझ उपचारका लागि आउने कतिपय बिरामीलाई त अस्पतालको आफ्नै फार्मेसी छ भन्नेसमेत थाहा हुँदैन । धादिङबाट छोराको कानको उपचार गर्न टिचिङ आएका शालिग्राम लम्सालले निजी फार्मेसीबाटै औषधि किने । ‘खोइ अस्पतालको फार्मेसीबारे थाहा छैन, औषधि लेखिदिने डाक्टरले पनि यसबारे केही भनेनन्,’ उनले भने ।

वीर, कान्ति, मानव अंगप्रत्यारोपण केन्द्र शिक्षण अस्पताल, प्रसूति गृह, शुक्रराज ट्रपिकल र पाटन अस्पतालले आफ्नै फार्मेसी चलाएका छन् । तर, ती सबैजसो अस्पतालका फार्मेसीमा सधैं औषधि नपाइने गुनासो बिरामीहरूको छ ।

खरिद प्रक्रिया लामो र झन्झटिलो भएकाले अस्पतालका फार्मेसीमा औषधि अभाव हुने गरेको अस्पतालका निर्देशकहरू बताउँछन् । तर, सरकारले यस्ता समस्या समाधान गर्न टेन्डर नगरी न्यूनतम ५ लाखको औषधि सिधै किनेर फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । कतिपय बिरामीलाई त औषधि खर्च जुटाउनकै लागि अस्पताल वरपरका माग्न बस्नुपर्ने अवस्था छ । सरकारले विपन्न नागरिकलाई विभिन्न ८ प्रकारका रोगमा १ लाख रुपैयाँसम्मको खर्च दिन्छ । तर, ती सबै बिरामी महँगो औषधिको मारमा छन् । निजी फार्मेसी हटाउन सके सरकारी फार्मेसीमा औषधि अभावको समस्या हट्ने स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल बताउँछन् ।

टिचिङका प्रशासन प्रमुख कृष्णदेव पन्तले नियमविपरीतका निजी फार्मेसीलाई चाँडै हटाइने बताए । ‘फार्मेसी सञ्चालकसँग भाडाको विवाद चलिरहेको छ, विवाद मिलेसँगै निजी फार्मेसी हटाउँछौं,’ पन्तले भने । स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयको दोहोरो नीतिका कारण टिचिङले निजी फार्मेसी हटाउन आनाकानी गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता हरिदास शर्माले बताए ।

  • आजको कान्तिपुर दैनिकमा समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *