स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्ति सम्मानित

काठमाडौँ, १७ भदौ । मुलुकभर स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने विभिन्न विधाका व्यक्ति सातौँ हेल्थ अवार्ड २०७४ बाट सम्मानित भएका छन् ।
‘स्वास्थ्य खबर’ मासिक पत्रिकाद्वारा शनिबार आयोजित सातौँ हेल्थ अवार्ड ०७४ तथा नेपाललाइभ डट कम अनलाइनको उद्घाटन समारोहमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा रामप्रसाद पोखरेललाई लाइफटाइम एचिभमेन्ट अवार्ड र धनगढीका ९२ वर्षीय बद्रीनाथ भण्डारीलाई स्वास्थ्य नागरिकद्वारा सम्मान गरियो ।
कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुगु अस्पतालका डा जीतेन्द्र कँडेललाई उत्कृष्ट चिकित्सक, बालस्वास्थ्य महाशाखाका पर्शुराम श्रेष्ठलाई उत्कृष्ट जनस्वास्थ्यकर्मी, बागलुङमा कार्यरत नर्स हरिकाशी पालिखेलाई उत्कृष्ट नर्स, भरतपुर अस्पताललाई उत्कृष्ट अस्पताल, सिराहाका सिअहेब गंगाराम साहलाई उत्कृष्ट स्वास्थ्यकर्मी, ललितपुरको राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन( कोशिस)लाई उत्कृष्ट सामाजिक संस्था र विराटनगरका उर्मिला खत्वेलाई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाको उपाधिद्वारा सम्मान गरे ।
कार्यक्रममा अर्थमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने समाजका नायकलाई गरिएको सम्मानले मुलुकभर अन्य व्यक्तिमा पनि उत्प्रेरणा जगाउने विश्वास व्यक्त गरे ।
उनले सबै नेपाली नागरिक गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेको वर्तमान अवस्थामा स्वास्थ्य क्षेत्रमा काम गर्न सरोकारवाला सबै निकाय र सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



