‘उसोभए अब आईओएमका डिनले राजिनामा दिनुपर्ने नै हो त ?’

– डा. मिलन गैरे
स्ववियू सभापति
महाराजगञ्ज मेडिकल क्याम्पस

यतिवेला  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम डिन कार्यालयमा स्ववियूले तालाबन्दी गरेको छ, किन ?

लामो समय स्ववियू थिएन । हुँदा पनि स्वास्थ्य शिक्षा क्षेत्रमा स्ववियूले उचित कदम चालेको थिएन । र शिक्षाको सुधार भएन । त्यसैले त डा गोविन्द केसीको जन्म भयो यहाँ ।

स्वास्थ्य शिक्षा गुणस्तरका लागि डा केसी सरले जुन आन्दोलन अघि सार्नु भयो त्यसले आंशिक सफलता पनि दिएको छ । तर चिकित्सा शिक्षामा देखिएका बेथितिहरु सधै भरी डा गोविन्द केसी सरले बोक्नुपर्ने ?

त्यसैले यसपटकको बेथिति विरुद्ध हामी विद्यार्थी उत्रिनु पर्छ भनेर नै स्ववियूको नेतृत्वमा आन्दोलन अघि बढेको हो । हाम्रा छ बुदे माग छन् । र ती अत्यन्त जायज छन् ।

तर यसलाई पुरा गर्ने तर्फ डिन कार्यालयले वेवास्ता गरेपछि हामी तालाबन्दीमा उत्रिनु परेको हो । आज २० दिन भयो डिन कार्यालय बन्द छ ।

तपाईँहरुका खास माग के के हुन् ?

डिन कार्यालयले गत पुस अघि नै भर्ना भईसक्नुपर्ने एक जना विद्यार्थीलाई अस्ति भर्खर जेठ १३ गते भर्ना गरेको छ त्यो पनि महाराजगञ्ज क्याम्पसमा । उक्त विद्यार्थी महाराजगञ्ज क्याम्पसका लागि उपयुक्त विद्यार्थी पनि होइन ।

उक्त विद्यार्थी काउन्सिलिङबाट किष्ट मेडिकल कलेजको लागि छानिएको हो । किष्टमा पठाइयो तर त्यहाँ भर्ना नलिएपछि महाराजगञ्ज क्याम्पसमा भर्ना गरियो त्यो पनि छ महिना पछि । उक्त विद्यार्थी भर्ना गर्दा आइओएममा वेटिङ लिष्टमा परेका सयौँ विद्यार्थीहरुलाई मर्का पारिएको छ । हाम्रो पहिलो र मुख्य माग यो हो ।

उसलाई भर्ना गर्दा कसरी अरु मर्कामा परे ?

साधारण नियम के हो भने कलेजमा यदि सिट खाली भयो भने सूचना निकाल्नुपर्छ । र वेटिङमा भएको अर्थात मेरिट लिष्ट अनुसार प्राथमिकता निर्धारण गरि भर्ना गर्नुपर्छ । तर वेटिङका सामान्य जानकारी समेत नदिई, एउटा सूचना समेत नदिई ठाडो रुपमा विद्यार्थी भर्ना गरियो । अर्थात पालो मिचियो । यसले उक्त विद्यार्थीको भन्दा माथि नाम भएका विद्यार्थीहरु मर्कामा परे ।

तपाईँहरुको मागमा डिनको आदेशमा यस्तो भयो भन्ने छ, के प्राडा जगदीश अग्रवालले गल्ती गर्नुभएकै हो त ?

हो । भएकै त्यहि हो । डिन कार्यालयले नियम विपरित भर्ना लिएको हो । र यो कार्य गर्न डिन नलागीकन सम्भव छैन । त्यसैले हामी भन्दैछौँ प्राडा अग्रवाल सरलाई भएको गल्तीलाई तत्काल सच्याउनुस भनेर । हामीले उठाएका मागहरु छिटो पुरा गरिदिनुस् भनेर ।

उसो भए अव डिनले राजिनामा दिनु पर्ने भो ? 

अहिले हामी त्यति नेगेटिभ सोचेका छैनौँ । डिन कार्यालयबाट गल्ति भएकै होे तर त्यो गल्तिलाई डिन आफैले सुधार्नुस भनेका छौँ । एउटा गल्तीमै हामी डिनलाई हटाईहाल्नु पर्छ भन्नेमा पुगिसकेका छैनौँ । उहाँलाई यो गम्भीर गल्ती सुधार्ने मौका र समग्र चिकित्सा शिक्षा सुधार गर्ने मौका दिन खोजिरहेका छौँ ।

अरु मागहरु के के छन् ?

यसबाहेक हामीले मेरिटका आधारमा पीजी तहको भर्ना लिइयोस भनेका छौँ । जो राष्ट्रिय बहसको विषय बनेको छ । र हिजो मात्रै सर्वोच्चले मेरिटका आधारमा भर्ना लिन फैसला सुनाएको छ । यसमा अव डिन कार्यालयबाट नै भर्ना होस भन्ने हामीले माग थपेका छौँ ।

अर्को माग भनेको आरक्षण कोटामा छ । विपन्नको नाममा जसरी आरक्षण कोटा छुट्याउने र भर्ना हुने प्रचलन छ । त्यसको पनि हामीले विरोध गरेका हौँ । हाम्रो विरोधका बावजुत पनि अहिले भर्नाको प्रक्रिया अघि बढाइएको छ । त्यसलाई रोक्नको लागि पनि आन्दोलन सुरु गरयौँ । सो मागका बारेमा कुरा गर्न यसअघि नै कार्यदल बनाइएको थियो ।

अहिले त्यो कार्यदलले सुझाव त दिएको छ । तर त्यसको कार्यान्वयन गर्ने तर्फ अघि बढेको छैन । हाम्रो माग त्यो पनि हो । अर्को माग कम्युनिटी पोष्टिङको छ । त्यसमा दिने भनिएको सेवा सुविधा कार्यान्वनय भएको छैन र कम्युनिटी पोष्टिङमा विशेषज्ञ भएपछि पठाउनुपर्नेमा विद्यार्थीलाई पठाइएको छ । त्यसमा पनि थप छलफलको जरुरी छ ।

आन्दोलन कहिलेसम्म चल्छ ?
आज १८ दिन भयो तालाबन्दी डिन कार्यालयमा ताला लागेको । जबसम्म हाम्रा माग पुरा हुँदैन तबसम्म चल्छ आन्दोलन । पहिले हामीले डिन कार्यालयमा मात्रै ताला लगाएका थियौँ । हिजोबाट उहाँको बैकल्पिक कार्यालय रहेको मोहेगो भवनमा पनि ताला लगाईदियौँ । र माग पुरा नभएसम्म आन्दोलन चल्छ । र यो स्ववियू नेतृत्वको आन्दोलनमा सबै विद्यार्थी संगठन समूहको ऐकेवद्धता पनि छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *