सर्पले डसेका पाँच बिरामी अस्पतालमा
काठमाडौँ, ३ साउन । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा आज बिहान सर्पले डसेका पाँचजना बिरामी उपचारका लागि आएका छन्।
जिल्ला अस्पतालका अनुसार महोत्तरीको भंगहा गाउँका २४ वर्षीय रम्पल यादव, एकडारा गाउँका ३२ वर्षीया नसिमा खातुन, २९ वर्षीय उत्तमकुमार मण्डल र भारत विहार राज्यको सीतामढी जिल्लाका यद्युपट्टि बस्ने ६० वर्षीय समसुल हक र मतौना देवारी बस्ने १२ वर्षीय मेहताव अन्सारी रहेका छन्।
उनीहरुमध्ये तीनजनालाई तराईमा जताततै पाइने विषालु सर्प गोमन र दुईजनालाई करैतले डसेको उनका आफन्तले बताएका छन्।
आज बिहान ५ बजेदेखि नै जिल्ला अस्पतालमा एकपछि अर्को गरी धमाधम उपचारका लागि आएका उनीहरुको सघन उपचार भइरहेको जनाइएको छ।
महोत्तरीमा अहिले अत्यधिक गर्मी बढ्न थालेको छ भने दैनिक जिल्ला अस्पतालमा सर्पदंशका १२ देखि १५ जनासम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नागेन्द्र यादवले बताए। रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



