अस्पतालबाट रिफर हुँदा हुँदै आमा छोराको ज्यान गयो
काठमाडौँ, २० जेठ । खानापछि बेहोस भएका म्याग्दीका दुई आमाछोराको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप दुई जनाको पोखरामा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार रघुगंगा गाउँपालिका, ८ कुईने घर भइ मंगला गापा, ५ छिस्वाङ्ग सपरिवार माइती आएकी २० वर्षीया चिना गुरुङको शुक्रबार साँझ जिल्ला अस्पताल वेनीमा र उनका १४ महिने छोरा विपिनको सेवा अस्पताल पोखरामा मृत्यु भएको हो ।
चिनाकी आमा झपीकला प्रज्ञा र श्रीमान् प्रेम गुरुङको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । मणिपाल शिक्षण अस्पतालले सेवा अस्पतालमा रिफर गरेको थियो ।
शुक्रबार बिहान सपरिवार ढिँडो र आलु, भन्टाको तरकारी खाएका उनीहरु लगत्तै छटपटी गर्दै बेहोस भएपछि छिमेकीले प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ्ग पुर्याएका थिए । स्वास्थ्य केन्द्रले वेनी अस्पताल, बेनी अस्पतालले पोखरा र पोखराको मणिपालले अर्को सेवा अस्पतालमा बिरामी रिफर गर्दागर्दै बालक बिरामीको मृत्यु भएको हो ।
‘घटनाको अनुसन्धान सुरु गरेका छौं । उनीहरुले खाएको पिठो र तरकारीको ल्याव परीक्षण गर्न केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाउने तयारी गरेका छौं’ सूचना अधिकारी रहेका प्रहरी निरीक्षक दिवाकर घिमिरेले भने, ‘खाना खाएका सबै एकै पटक बिरामी परेकोले प्रारम्भिक अध्ययन विषादी प्रयोगको संभावनाबाट सुरु गरेका छौं ।’
- आजको कान्तिपुरमा घनश्याम खड्काको समाचार छ