मानवअंग प्रत्यारोपण केन्द्रले गर्‍यो दुई जनाको नि:शुल्क मिर्गौला प्रत्यारोपण

मिर्गौला पाउने छोरा दीपक गुरुङ बायाँ र मिर्गौला दिने आमा सुनमाया गुरुङ दायाँ

मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरले नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । १ बैशाख देखि प्रत्यारोपण नि:शुल्क गर्ने सरकारको घोषणा अनुरुप केन्द्रले आज दुई जनाको मिर्गौैला प्रत्यारोपण गरि नि:शुल्क कार्यक्रमको सुरु गरेको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार पोखराका ३० बर्षीय दीपक गुरुङ र काठमाडौँ नाङ्लेभारेकी २६ वर्षीया लक्ष्मी ढकालको निशुल्क प्रत्यारोपण भएको हो ।

पोखराका गुरुङलाई उनकी ६० बर्षीया आमा सुनमाया गुरुङ र ढकाललाई उनकी ४८ बर्षीया आमा चण्डीका ढकालले मिर्गौला दान गरेकी थिइन । कार्यकारी निर्देशक डा. श्रेष्ठले सोमबार पनि थप एक जनाको प्रत्यारोपण गर्ने योजना भएको जानकारी दिए ।

यसअघि स्वास्थ्य मन्त्री गगन थापाले १ बैशाख देखि प्रत्यारोपण निशुल्क गर्ने घोषणा गरेका थिए । सोही घोषणाको कार्यान्वयनको रुपमा यसलाई हेरिएको छ । यद्धपी अरु दुई सरकारी अस्पतालबाट निशुल्क प्रत्यारोपण सुरु भईसकेको छैन् ।

त्रिवि शिक्षण अस्पतालकी मिर्गौलारोग विशेषज्ञ डा दिव्यासिंह शाहले आफूहरुलाई नयाँ घोषणा सम्वन्धी पत्र आइनसकेकोले जानकारी नभएको बताइन् । बीर अस्पतालमा पनि तीन दिन यता नयाँ प्रत्यारोपण भएको छैन् ।

मन्त्रालय स्रोतका अनुसार निःशुल्क प्रत्यारोपण सम्वन्धी कार्यविधि बन्ने क्रममै रहेको छ । अन्तिम रुपमा पुगि नसकेको कार्यविधिमा अस्पताललाई प्रति केश ४ लाख रुपैयाँ दिने प्रस्ताव गरिएको छ । त्यसबाहेक प्रत्यारोपण अघि लाग्ने परीक्षण खर्चका लागि थप ५० हजार उपलव्ध गराउनेकि भन्नेमा समेत छलफल अघि बढेको छ ।

प्रत्यारोपण अघि क्रसम्याच लगायतका सबै परीक्षणका लागि कम्तीमा एक लाख  रुपैयाँ खर्च लाग्ने गर्छ । ‘यो खर्च भने अहिले विरामीले नै तिर्नु परेको छ । सबै परीक्षण पछि प्रत्यारोपण गर्ने बेलाको अप्रेशन, बेड तथा महंगा औषधि इत्यादी निशुल्क हो,’ केन्द्रका निर्देशक डा. श्रेष्ठले स्पष्ट पारे ।

यसअघिको सरकारले प्रत्यारोपण खर्च बापत अस्पताललाई दुई लाख रुपैयाँ उपलव्ध गराउँदै आएको थियो भने आजिवन रुपमा हप्ताको दुईपटक निशुल्क डायलासिस सेवा उपलव्ध गराएको थियो । त्यस्तै प्रत्यारोपण पछिको औषधिका लागि एक लाख रुपैयाँ उपलव्ध गराएको थियो ।

थापा स्वास्थ्य मन्त्री भएपछि डायलासिस हप्ताको दुईपटक हुने व्यवस्थालाई संसोधन गरि आवश्यक परेजति डायलासिस निशुल्क गर्ने व्यवस्था मिलाएका हुन् । त्यस्तै प्रत्यारोपणमा दिइदै आएको दुई लाखमा थप दुई लाख रुपैयाँ गरी चार लाख रुपैयाँ अस्पतालहरुलाई उपलव्ध गराउने व्यवस्था गरेका हुन् ।

नौ बर्ष अघिदेखि मिर्गौला प्रत्यारोपण सुरु भएको नेपालमा हालसम्म करीव ८ सय जनाको प्रत्यारोपण भईसकेको छ । सुरु सुरुमा त्रिवि शिक्षण अस्पतालले धेरै प्रत्यारोपण गरेको भएपनि अहिले भने भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्रमा बढी हुने गरेको छ । केन्द्रका निर्देशक डा श्रेष्ठ भन्छन्, ‘२०७३ सालमा ११६ वटा प्रत्यारोपण गरियो । २०७४ सालमा १५० बढी प्रत्यारोपण गर्ने लक्ष्य छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *