बाल दन्त विशेषज्ञहरुको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँमा

काठमाडौँ, २६ चैत । बाल दन्त विशेषज्ञहरुले नेपालका सरकारी अस्पतालहरुमा बाल दन्त विशेषज्ञको दरवन्दी एउटा पनि नभएको भन्दै गुनासो गरेका छन् । उनीहरुले बाल बालिकाको मुख तथा दाँत जस्ता सम्वेदनशील भागको उपचार गर्न हरेक सरकारी अस्पतालमा बाल दन्त विशेषज्ञको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

बाल दन्त विशेषज्ञहरुको संस्था नेप्लीज एसोशिएसन अफ पेडियाट्रिक डेन्टिस्ट्री (पीइडेओ)को आयोजनामा भएको पहिलो राष्ट्रिय सम्मेलनमा हुन आएका बाल दन्त विशेषज्ञहरुले सरकारी अस्पतालमा बाल दन्त विशेषज्ञको व्यवस्था हुनै पर्नेमा जोड दिए ।

‘सरकारको केन्द्रीय बाल अस्पतालमा अहिलेसम्म एउटा बाल दन्त विशेषज्ञको दरबन्दी राखिएको छैन । यो जस्तो विडम्वनापूर्ण अवस्था के हुनसक्छ ?,’ नेपाल डेन्टल एसोशिएसनका अध्यक्ष डा.  सन्तोष राजभण्डारीले भने ।

सम्मेलन आयोजक समितिका अध्यक्ष डा. पराजिता दीक्षितले त्रिवि शिक्षण अस्पतालमा एक जना बाहेक कुनै सरकारी अस्पतालमा बाल दन्त विशेषज्ञ नभएको बताइन् । उनले सरकारी अस्पतालमा विशेषज्ञ नहुँदा उपचारका लागि आउने आम बालबालिकाले सहि रुपमा उपचार सेवा नपाउने दुखेसो गरिन । ‘डेन्टलका केही डाक्टरहरु हुनुहुन्छ तर बाल बालिकाको दाँतको उपचार फरक र जटिल हो । यसमा उपचार गर्ने डाक्टरले सीप बाहेक बाल मनोविज्ञान पनि बुझेको हुनुपर्छ । यस्तो शिप अन्य डेन्टल डाक्टरमा हुँदैन । त्यसैले बाल दन्त विशेषज्ञ नै चाहिन्छ भनिएको हो,’ डा दीक्षितले भनिन् ।

सम्मेलन आयोजक समितिका महासचिव एवं बाल दन्त विशेषज्ञ डा. सेन्छिमा लिम्वुलले बालबालिकाहरुको दाँतको उपचार बाल दन्त विशेषज्ञहरुद्धारा नै गराउँनु पर्ने भन्दै यसका लागि राज्य र अभिभावक दुबै सचेत हुनुपर्ने बताइन । ‘राज्यले कम्तीमा हरेक सरकारी अस्पतालहरुमा बाल दन्त विशेषज्ञहरु उपलव्ध गराउनु परयो । त्यस्तै अभिभावकले आफ्नो बच्चाको दाँत उम्रेको  ६ महिना भित्र वा बच्चाको पहिलो जन्मोत्सव मनाएपछि नै दाँतको अवस्था बारेमा बाल दन्त विशेषज्ञसंग परीक्षण गराई ढुक्क भएर बस्नुपर्छ,’ डा. लिम्वुले भनिन् ।

त्यसो त नेपालमा बाल दन्त विशेषज्ञहरुको संख्या धेरै छैन् । हाल सम्म १८ जनाले विशेषज्ञ लाईसेन्स पाएपनि ३ जना विदेशिएका छन् । ‘अहिले हामी १५ जना मात्रै छौँ । त्रिवि शिक्षणमा एक जना बाहेक सबै जना निजी अस्पतालमा कार्यरत छौँ ‘  डा. लिम्वुले भनिन् ।

गतवर्ष मे मा दर्ता भएको नेप्लीज एसोशिएसन अफ पेडियाट्रिक डेन्टिस्ट्री (पीइडेओ)ले बाल दन्त स्वास्थ्य उपचारमा भएका नयाँ नयाँ खोज अनुसन्धान तथा अनुभव आदानप्रदान गर्न यसपटक सम्मेलनको आयोजना गरेको बताएको छ । सम्मेलनमा नेपाल सहित भारतका ७ जना बाल दन्त विशेषज्ञहरुको उपस्थिति रहेको छ ।

आज एक दिन चल्ने सम्मेलनमा १० वटा कार्यपत्र र त्यतिनै संख्यामा पोष्टर प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ । भेलामा बाल दन्त रोग विशेषज्ञ, डेन्टल डाक्टर सहित डेन्टल अध्ययनरत विद्यार्थी गरी १५० बढीको उपस्थिति छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *