काठमाडौँका ११ स्थानमा स्वास्थ्य प्रवर्दन केन्द्र खोल्ने सम्झौँता

काठमाडौँ, २६ चैत । काठमाडौँका विभिन्न ११ स्थानमा स्वास्थ्य प्रवर्दन केन्द्र स्थापना हुने भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच स्वास्थ्य प्रवर्दन केन्द्र खोल्ने सम्वन्धी विषयमा सम्झौता भएको हो ।

स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा भएको सो सम्वन्धी सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट नीति योजना तथा अन्तराष्ट्रिय महाशाखा प्रमुख भोगेन्द्र राज डोटेल र महानगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत ईश्वरराज पौडेलले सम्झौँता पत्रमा हस्ताक्षर गरे ।

यसअघि शहरवासीलाई सहज रुपमा स्वास्थ्य परामर्श, नसर्ने रोग रोकथामका उपाय, आधारभुत स्वास्थ्य सेवा तथा प्राथमिक उपचार सेवाको एकीकृत प्याकेज उपलव्ध गराउने भन्दै स्वास्थ्य मन्त्री गगन थापाले शहरी क्षेत्रमा स्वास्थ्य प्रवर्दन केन्द्र स्थापना गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार सेवा सञ्चालन गर्ने गरी शुक्रबार महानगरपालिकासंग सम्झौँता भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्र्मुख महेन्द्रप्रसाद श्रेष्ठका अनुसार सम्झौँता पश्चात काठमाडौं महानगरपालिकाभित्रका ११ स्थान चावहिल, मैतीदेवी, नक्साल, कुलेश्वर, लैनचौर, पुरानो बसपार्क, मित्रनगर, डल्लु आवास, वालाजु, बाफलमा स्वास्थ्य केन्द्र खोल्ने तयारी भएको छ । उनले चावहिल, कुलेश्वर लगायतका केही स्थानमा एक साता भित्रबाटै केन्द्र सञ्चालनमा आउने बताए ।

पहिलो चरणमा ११ वटा वडामा यो कार्यक्रम लागू भएपनि आगामी तीन बर्ष भित्रमा सबै वडामा यो कार्यक्रम पुरयाउने लक्ष्य राखिएको सहसचिव डोटेलले बताए ।

निशुल्क प्राप्त हुने आधारभुत स्वास्थ्य सेवावाट शहरी जनसंख्यालाई बञ्चित हुन नदिन र नियमित परिक्षण, परामर्श र प्राथमिक उपचार सेवाको प्रत्याभुतु शहरवासीलाई गराउन स्वास्थ्य मन्त्री गगन थापाको पहलमा जनता स्वास्थ्य केन्द्र संचालनमा ल्याउन लागिएको हो ।

स्वास्थ्य प्रवर्दन केन्द्रवाट नसर्ने रोगको नियन्त्रण, स्वास्थ जीवनका लागि वातावरणको नियमित अनुगमन, सरुवा रोगको रोकथाम र उपचार, प्राथमिक उपचार, ल्याव परिक्षण, मातृशिसु स्वास्थ्य एवं परिवार नियोजन सेवा, प्रजनन स्वास्थ्य सेवा, खोप, पोषण, बालरोगको एकिकृत व्यवस्थापन, मानसिक रोगको परामर्श सेवा, यौन तथा प्रजनन परामर्श सेवा, वृद्ध वृद्धाहरूका लागि परामर्श सेवा लगायतका परामर्श, परीक्षण र उपचार सेवा प्रदान गरिने छ ।

स्वास्थ्य केन्द्रको पहुँच क्षेत्रमा बातवरणीय र अन्य जनस्वास्थ्य गतिविधिको समेत एकिकृत अनुगमन गर्न स्वास्थ्य निरीक्षक समेत रहनेछ । स्वास्थ्य निरीक्षकले त्यस क्षेत्रभित्र स्वास्थ्य संग जोडिएका वातावरणीय सेवा सुविधा सहित खाद्य पानी जस्ता विषयको निरीक्षण गर्नेछन् ।

केन्द्रवाट योग तथा शारीरिक व्यायमका कार्यक्रम समेत संचालन गरिनेछ । शहरवासीले आफ्नो व्यस्त समयका विच नजिकको स्थानमा निशुल्क रुपमा नियमित परीक्षण, प्राथमिक उपचार र परामर्श सेवा उपलव्ध हुनेहुँदा यस्तो केन्द्र नमुना हुने बिश्वास रहेको छ ।

स्वास्थ्य मन्त्री थापाले एकातर्फ काठमाडौँमा बसोबास गर्ने गरीव तथा सर्वसाधारणले आधारभुत स्वास्थ्य सेवावाट बंचित भएको अवस्था र अर्कोतर्फ असन्तुलित जीवनशैलीका कारण नसर्ने रोगहरूको समस्या, मानसिक स्वास्थ्य समस्या दिनानुदिन वढ्दै गएको अवस्था रहेको भन्दै दुवै अवस्थालाई सम्वोधन गर्न केन्द्र स्थापना गरिएको बताए । उनले अन्य महानगर/उपमहानगर/नगर/गाउपालिकासँग सम्झौता गर्दै जनता स्वास्थ्य प्रवर्दन केन्द्रलाई देशभरी विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *