सुनसरीमा तत्काल औषधी अभाव छैन

इनरुवा, २८ माघ । सुनसरीमा तत्काल औषधिको अभाव नरहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । विभिन्न जिल्लामा औषधि अभाव भएको विषयमा समाचार आइरहेको बेला कार्यालयले सुनसरीमा तत्काल औषधि अभाव नभएको जनाएको छ ।

कार्यालयले सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकारसम्मेलनको आयोजना गरी जिल्ला अस्पतालका साथै मातहतका कुनै पनि स्वास्थ्य संस्थामा औषधि अभाव नरहेको जनाएको छ । सरकारले निःशुल्क उपलब्ध गराउने भनिएका सबै औषधिको उपलब्धता नभए पनि बढी मात्रामा आवश्यक पर्ने औषधि पर्याप्त रहेको कार्यालयले जनाएको छ ।

अहिले आफूहरुसँग रहेको औषधिले एक महिना धान्ने र थप खरिद प्रक्रिया सुरु भइसकेकाले दुई महिना जिल्लामा औषधि अभाव नदेखिने पत्रकारसम्मेलनमा कार्यालयका प्रमुख मुकुन्दराज गौतमले जानकारी दिए ।

केन्द्रबाट प्राप्त हुने औषधि समयमै उपलब्ध नभए जिल्लाभरि एकैसाथ औषधिको अभाव सिर्जना हुनसक्ने स्वास्थ्य प्रमुख गौतमले जानकारी दिए । यसैबीच कार्यालयले चालु आवमा रु ४४ लाख २० हजार चारसय ५० को औषधि खरिद गरेको पत्रकारसम्मेलनमा जनाएको छ ।

स्वास्थ्य संस्थाका लागि १८ किसिमका औषधि खरिद गर्नका लागि सो बराबरको खर्च गरेकोे जिल्ला स्वास्थ्य प्रमुख गौतमले जानकारी दिए । स्वास्थ्य कार्यालयले आफ्नो औषधि खरिदमा दुई किसिमको प्रक्रिया अपनाएको प्रमुख गौतमले बताए । कार्यालयले कोटेसनबाट रु आठलाख ८१ हजार पाँचसय ४० र बोलपत्रबाट रु ४४ लाख २० हजार चारसय ५० को औषधि खरिद गरेको छ ।

त्यसैगरी, कार्यालय व्यवस्थापन कार्यक्रममा रु ५२ लाख र एकीकृत बाल स्वास्थ्य कार्यक्रमबाट रु आठ लाखको औषधि खरिद गरेको छ । पत्रकारसम्मेलनमा एउटा जिल्ला अस्पतालसहित ५२ स्वास्थ्य संस्था र सहरी तथा सामुदायिक संस्था १२ गरी ६५ वटा स्वास्थ्य संस्थाका लागि सोे बराबरको औषधि खरिद गरेको कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयले कोटेसनबाट पाँच किसिमको औषधि र बोलपत्रबाट १८ किसिमकोे औषधि पुस मसान्त सम्ममा खरिद गरिएको कार्यालयका जनस्वास्थ्य अधिकृत राजनारायण मण्डलले जनकारी दिए ।

मण्डलका अनुसार स्वास्थ्यका लागि १२ महिनामा औषधि र सर्जिकल सामग्री खरिदका लागि करिब रु चार करोड आवश्यक भएपनि सो बराबरकोे बजेट रकम नरहेको अवस्था छ । जिल्लामा ७० किसिमकोे निःशुल्क औषधि वितरण गर्नुपर्नेमा धेरै किसिमको औषधि अझै पनि अभाव रहेको कार्यालयका भूनन्द साहले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *