मेडिकल कलेज सञ्चालन अनुमति नदिए आमरण अनशन बस्ने

काठमाडौँ, २८ मंसिर- स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज, मेचीका अध्यक्ष चैतन्य प्रकाश मैनालीले झापाको विर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेज शिक्षण अस्पताललाई एक महिनाभित्र सञ्चालन अनुमति नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

यहाँ आज पत्रकार सम्मेलन गर्दै उनले सम्झौताका कारण रु पाँच अर्ब बढीको लगानीमा सम्पूर्ण पूर्वाधार पूरा गरी सञ्चालन अनुमतिका लागि प्रक्रिया अघि बढेको अस्पताल सम्झौताका कारण अलपत्र परेको बताए ।

उनले भने, “हामीले सम्पूर्ण तयारी पूरा गरिसक्यौँ, अर्बौंको लगानी जोखिममा छ । सरकारले एक व्यक्तिको माग पूरा गर्ने बाहानामा अन्यलाई अन्याय गरेको छ । एक महिनाभित्र सञ्चालन अनुमति नदिए डा. गोविन्द केसीकै शैलीमा टुँडिखेलमा आमरण अनशन बस्छु ।”

चिकित्सा ऐन आउने टुङ्गो नहुँदा र आए पनि प्रत्येक प्रदेशमा मेडिकल विश्वविद्यालय स्थापना भई त्यसमार्फत सम्बन्ध दिने कुरा स्वास्थ्यमा निजी क्षेत्रलाई बेवास्ता गर्न खोजिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए ।

स्वास्थ्य मन्त्रालयबाट ३०० श्ययाको स्वीकृत लिई सञ्चालनमा रहेको अस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामीले बहिरङ्ग सेवा लिने ७० भन्दा बढीले आकस्मिक सेवा लिने गरेको प्रसाईंको भनाइ छ ।

मैनालीले प्रा डा केसीसँग भएको १२ बुँदे सम्झौता खारेजीको माग गर्दै प्रधानमन्त्रीको कार्यालय, मुख्यसचिव, स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव, शिक्षामन्त्री, शिक्षा सचिव, तथा चिकित्सक डा. केसीलाई विपक्षी बनाई यही मङ्सिर २२ गते सर्वोच्चमा दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विपक्षीलाई १५ दिनभित्र लिखित कारण पेस गर्न आदेश दिएको छ ।

मैनालीले सरकारले प्रा डा केसीसँग गरेको १२ बुँदे सम्झौताले ठूलो लगानी गरी सम्पूर्ण तयारी पूरा गरेका निजी मेडिकल कलेजलाई सम्बन्धन नदिएर निजी क्षेत्रलाई हतोत्साही बनाएको बताए ।

“यो सम्झौता लागू भएमा मेडिकल नहँुदा नेपाली विद्यार्थीले चिकित्सा शिक्षा पाउन नसक्ने र हजारौँ विद्यार्थी करोडौँ रकम खर्च गरी विदेश पलायन हुने अवस्था सिर्जना भएको छ”– उनले भने । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “मेडिकल कलेज सञ्चालन अनुमति नदिए आमरण अनशन बस्ने

  1. Jati arba ko lagani gare ni medical colz nai banaounu parne ho ra ? Hospital matrai chalaye ni hune ho ni….take example of medianta hospital delhi, gurgaon 12,000 crore IC ma baneko hospital tyasko colz,xaina ta.

Leave a Reply

Your email address will not be published. Required fields are marked *