यसबर्ष डेंगुको संक्रमण गतवर्ष भन्दा एघार गुणाले बृद्धि

dangu

काठमाडौँ, २१ मंसिर – लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोग संक्रमितको संख्या यसबर्ष गतवर्ष भन्दा एघार गुणाले बढी भेटिएको छ । गतवर्ष ३१ जिल्लाका १३४ जनामा डेंगुरोगको संक्रमण पाइएको थियो । तर यसबर्ष साउन यता मात्रै ३० जिल्लामा  १ हजार ४७३ जनामा डेंगुको संक्रमण देखा परेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार गतवर्ष भन्दा एघार गुणा बढी केश भेटिएको यसबर्षको संख्या पछिल्लो चार बर्ष यताकै उच्च हो । महाशाखाका अनुसार आर्थिक बर्ष २०७०/ ७१ मा ७८५ जना, आव ०७१/७२ मा ३०२ जना, आव ०७२/७३मा १३४ जनामा संक्रमण देखिएको थियो । यो बर्ष साउन यता मात्रै १ हजार ४७३ जनामा संक्रमण भएको पुष्टि भइसकेको छ ।

निरीक्षक प्याकुरेलले यसबर्ष सबैभन्दा बढी (६७५ जनामा) डेंगु केश चितवनमा भेटिएको छ । दोस्रो नम्बरमा बढी केश भेटिने झापा(३९४ जनामा)र तेस्रो नम्बरमा रुपन्देही ( १४८ जनामा) परेको छ ।

खासगरी तराईमा बढी देखिए पनि महाशाखाको प्रतिवेदनमा उपत्यका सहित, पोखरा, बाग्लुङ, बैतडी, रुकुम, कालिकोट, प्यूठान, स्याङजा लगायतका पहाडी जिल्लामा समेत डेंगुको संक्रमण भेटिएको जनाइएको छ ।

निरीक्षक प्याकुरेलले अघिल्लो बर्ष भन्दा यसबर्ष लामो समय बर्खा रहेको तथा रिपोर्टिङ समेत चुस्त भएकोले संक्रमितको संख्या बढी भएको हुनसक्ने बताए । ‘बर्खा लम्बियो, अनि रिपोट पनि चुस्त भयो, त्यसैले बढी भेटिएको हुनसक्छ,’ उनले भने ।

डेंगुबाट गतवर्ष दाङ र चितवनमा गरी दुई जनाको र यो बर्ष चितवनमा मात्रै एक जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । तर स्थानीय स्तरबाट आएको सूचनालाई विश्वास गर्ने हो भने संख्या सरकारले पुष्टी गरेको भन्दा कैयन बढी हुने देखिएको छ ।

डेंगुको संक्रमण फैलिएपछि यसपटक महाशाखाले चितवनको रत्ननगर क्षेत्रमा क्लिन एण्ड डिस्ट्रोइ अभियान नै चलाएको थियो । सो क्रममा ८५१ घर धुरीमा डेंगु खोज्ने र ध्वस्त पार्ने काम भएको थियो ।

निरीक्षक प्याकुरेलका अनुसार सर्च गर्ने क्रममा सबैभन्दा बढी गाडीका टायरमा डेंगुसार्ने लामखुट्टेले फुल पार्ने गरेको पाइएको थियो । उनले अहिले भने डेंगु नियन्त्रणको अवस्थामा आइसकेको जानकारी दिए । ‘अहिले फाट्ट फुट्ट एक दुईवटा केश आउने गरेको छ । यो त नियन्त्रणमै हो भन्न सकिन्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *