एमबीबीएस र बीडीएसमा शुल्क बढाउने प्रस्ताव, डा. केसीको समर्थन

0
Shares

gkc-copy

काठमाडौँ, १९ मंसिर – आइतबार अनसन तोड्न तयार गरिएको डा. गोविन्द केसी र सरकारबीचको सहमति पत्रमा एमबीबीएस र बीडीएस अध्ययनका लागि नयाँ शुल्क प्रस्ताव गरिएको छ । नयाँ शुल्क प्रस्तावमा एमबीबीएसमा झण्डै चार लाख र बीडीएसमा एक लाख ७५ हजार रकम बढी प्रस्ताव गरिएको छ ।

शनिबार अवेर तयार गरिएको सहमति पत्रको तेस्रो नम्बर बुँदामा चालु शैक्षिक सत्रका लागि एमबीबीएस र बीडीएस तर्फको नयाँ शुल्क उल्लेख गरिएको छ । जसमा उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले गत ११ मंसिरमा जारी गरेको सूचनामा एमबीबीएस उपत्यका भित्र ३५ लाख र उपत्यका बाहिर ३८ लाख ५० हजार शुल्क तोकेको थियो । अहिले प्रस्ताव गरेको शुल्क उपत्यका भित्र साडे तीन लाख र उपत्यका बाहिर ३ लाख ९५ हजार बढी हो ।

त्यस्तै बीडीएस तर्फ पनि नयाँ शुल्क तोकिएको छ । नयाँ शुल्कमा १९ लाख ३२ हजार ६१२ रुपैयाँ तोकिएको छ । यसअघि १७ लाख ५६ हजार ९२० रुपैयाँ तोकिएको थियो । यसअघिको भन्दा अहिले प्रस्ताव गरिएको शुल्क १ लाख ७५ हजार ६९२ रुपैयाँ बढी हो ।

सहमति पत्रमा चिकित्सा शिक्षा आयोग गठन भई आयोगले शुल्क तोकेको अवस्था बाहेक यहि शुल्कदर शैक्षिक बर्ष २०७४ ७५ का लागि पनि कायम गर्ने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *