रुपन्देहीमा ३६ जना डेङ्गुबाट सङ्क्रमित

dangue
लुम्बिनी, १ मंसिर –  रूपन्देहीमा मङ्गलबारसम्ममा ३६ जना डेङ्गु रोगबाट सङ्क्रमित भएको पाइएको छ । जिल्लाका विभिन्न अस्पतालमा भएको परीक्षणमा यती धेरै सङ्क्रमित फेला परेको यो पहिलो पटक हो ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका छन् । बुटवलभित्र मात्रै झन्डै २० जना बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । ती बिरामीको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, लुम्बिनी अञ्चल अस्पताल, बुटवल हस्पिटल प्रालि, मर्सिसिटी अस्पताल, आम्दा अस्पताललगायतका निजी अस्पतालमा उपचार भइरहेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको लक्षण थाहा पाएपछि अस्पताल पुगेका बिरामी सफल उपचारपछि घर फर्किएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । जिल्लामा पछिल्लो तीन वर्षयता सबैभन्दा बढी डेङ्गु रोगका सङ्क्रमित फेला परेका हुन् । निरीक्षक शाहका अनुसार रूपन्देहीमा २०७१ मा नौजना र २०७२ सालमा पाँचजना मात्रै डेङ्गु रोगी फेला परेका थिए ।

यो वर्ष भने यो सङ्ख्या अझै बढ्न सक्ने जानकारहरू बताउँछन् । डेङ्गुका बिरामी अप्रत्याशित तरिकाले बढेपछि कार्यालयले रोगबाट बच्ने उपाय र सोको लक्षणबारे जानकारी दिँदै आएको छ । कार्यालयले सम्बन्धित नगरपालिका तथा महिला स्वास्थ्य स्वयम्सेविकासँग समन्वय गर्दै घरदैलो अभियानलाई तीव्र पारेको छ । कार्यालयका अनुसार महिला स्वयम् सेविकामार्फत बुटवल उपमहानगरपालिका अन्तर्गतका वडा नम्बर १ देखि १५ सम्म घरदैलो कार्यक्रममा सो रोगका लक्षण बच्ने उपायको जानकारी दिइएको छ ।

रूपन्देहीमा डेङ्गू रोगका बिरामी अप्रत्याशित रुपमा बढेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका जनरल फिजिसियन डा प्रवीन खत्रीले जानकारी दिए । उनका अनुसार अस्पतालमा दिनहुँ उपचारका लागि आइरहेका बिरामीमा एनएसवानएजी रियाक्टिभ देखिएको र ती बिरामी रोगको सुरुवाती अवस्थामा छन् भने कतिपय बिरामीमा आइजिएम पोजिटिभ देखिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *